म्याग्दी। कालिगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जानका लागि स्थानीय एक युवाले नदीमा स्थानीय प्रविधिको प्रयोग गरेर काठको अस्थायी पुल निर्माण गरेका छन्। झोलुङ्गे पुल नहुँदा यहाँ हिँउदको समयमा कालिगण्डकी नदी वारपार गर्न काठेपुलको भर पर्नुपर्ने बाध्यता छ ।
अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीदेखि पारी पाउद्धारको पुछारमा रहेको तातोपानी कुण्डमा स्नान गर्न जाने पर्यटक र विरामीहरुको सुविधाका लागि स्थानीयवासी कुमार तिलिजा पुनले व्यक्तिगत रुपमा एकलाख रुपियाँ खर्चिएर काठको अस्थायी पुल निर्माण गरेका हुन्। पुल बनाउन तिलिजाले काठका फ्ल्याक, बाँस र ग्यावियन झाली प्रयोग गरेका छन् । तातोपानी कुण्ड जाने विरामी, पर्यटक र कुण्ड आसपासका सर्वसाधरणलाई काठको पुलबाट नदी वारपार गर्दछन् ।
कालिगण्डकी नदीमा पुल नहुँदा कुण्डमा स्नान गर्न आउने पर्यटक र विरामीहरु नारच्याङको पुल तरेर घुमाउरो बाटो प्रयोग गरेर आउनुपर्ने भएकाले केही महिनाका लागि भएपनि सहज बनाउन आफूले काठको अस्थायी पुल निर्माण गरेको तिलिजाले बताए। पुल बनेसँगै कुण्डमा स्नान गर्न आउने विरामी अवस्थाका वृद्धवृद्धाहरु र पर्यटकलाई निकै सहज भएको छ । पुल जेठको दोस्रो हप्ता सम्म रहने र नदीमा पानीको सतह बढेपछि झिकेर राख्ने तिलिजाले बताए ।
पुल बनाउन तिलिजा सँगै दैनिक रुपमा ७ जनाले एकमहिना काम गरेका थिए । मजदुरलाई ज्याला, पुल बनाउन प्रयोग भएका काठ, बाँस र ग्यावियन झाली सहित करिब एकलाख रुपियाँ खर्च भएको तिलिजाले बताए। उक्त पुल करिब ६ महिनासम्म रहने उनले बताए । पुल बनाउने खर्च गाउँपालिकाले दिने आश्वासन पाएपनि अहिलेसम्म रकम नपाएको तिजिलाको भनाई छ ।
कुण्डको व्यवस्थापनको जिम्मा समेत लिएका तिलिजाले पुल बनाइदिएपछि ४५ मिनेटको बाटो छोटिएर ५ मिनेट भएको कुण्डमा स्नान गर्न आएका रघुगंगा गाउँपालिका २ तिप्ल्याङकी लिला गुरुङले बताइन् । रोग निको बनाउन कुण्डमा स्नान गर्न आउने वृद्धवृद्धाहरु घुमाउरो बाटो हिडेर आउन असहज भएको थियो गुरुङले भने, ‘‘काठको अस्थायी पुलले वारीपारी गर्न निकै सहज बनाइदिएको छ ।
पक्की वा झोलुङ्गे पुल नै बनाइदिए कुण्डमा आउन नदी वारपार गर्न सजिलो हुने र कुण्डको पनि प्रवद्र्धन हुने स्थानीयको भनाइ छ । गोरखापत्रबाट