जनकपुर। गुठीबाट सञ्चालित दशरथ मन्दिरको जग्गामा व्यावसायिक भवन निर्माण गरेर क्लिनिक चलाइएको छ । धनुषास्थित दशरथ मन्दिरको करिब २ कट्ठामा निर्मित दुई भवनमा क्लिनिक सञ्चालन गरिएको हो ।
भवनको जनकपुर उपमहानगरपालिकाबाट नक्सापास पनि गराइएको छैन । एउटा भवनमा बालरोग विशेषज्ञ डाजामुनप्रसाद सिंहको क्लिनिक सञ्चालनमा छ भने अर्कोमा जनरल फिजिसियन डा।रमण मिश्रले क्लिनिक चलाउने तयारी गरिरहेका छन् । धर्मशाला निर्माण गर्ने भनेर व्यावसायिक भवन बनाइएको स्थानीयले बताए । ‘केही महिनादेखि मन्दिर परिसरमा दुवै व्यावसायिक भवन निर्माण भइरहेको थियो । हामीले सोध्दा महन्तजीले धर्मशाला निर्माण गराउन थालेको भन्नुभएको थियो । तर, यहाँ त क्लिनिक पो खुल्यो,’ जनकपुर–८ का लालबाबु साहले भने ।
दशरथ मन्दिर वरिपरि लक्ष्मीनारायण मठको एक बिघाजति जग्गा छ । अधिकांश जग्गा भाडा र अन्य परियोजनमा बिक्री नै भइसकेको छ । हालको भवन पनि दुरुपयोग हुन सक्ने भएकाले जनकपुरको रामानन्द युवा क्लबको नेतृत्वमा स्थानीयले निर्माण रोकेका थिए । स्थानीयको विरोधपछि जनकपुरधाम उपमहानगरका कर्मचारीले निर्माणस्थलबाट ग्रील, फलामका डन्डीलगायत निर्माण सामग्री नियन्त्रणमा लिएका थिए । वैष्णव मन्दिरका प्रमुख संरक्षक जगन्नाथ दास हुन् । किर्ते गरेर बैंकबाट रकम निकालेको आरोपमा हाल उनी प्रहरी हिरासतमा छन् ।
डा.सिंहले महन्त दाससँगको आपसी सम्झौताका आधारमा क्लिनिक सञ्चालन गरेको दाबी गरे । उनका अनुसार प्रतिकोठा १० हजार रुपैयाँ मासिक भाडामा ४० हजारमा चारवटा कोठा भाडामा लिइएको छ । ‘नक्सापास भएरनभएको महन्तजीसँग जोडिएको मामिला हो । हामीले भाडामा मात्र लिएका हौं,’ डा।सिंहले भने ।
महन्त दासले ६ महिनाअघि गुठी संस्थान जनकपुरमा निवेदन दिई मन्दिरको आयआर्जन गर्ने उद्देश्यले मन्दिरकै लगानीमा सटर निर्माण गर्न अनुमति मागेको थियो । गुठी संस्थान जनकपुरका प्रमुख वैकुण्ठप्रसाद रेग्मीका अनुसार महन्त दासको निवेदन केन्द्रीय गुठीमा पठाउँदा मागबमोजिम सटर निर्माण गर्न अनुमति दिएको थियो । तर, केन्द्रीय गुठीले भाडा निर्धारणबारे कैफियत जनाएको रेग्मीले जानकारी दिए ।
सडक विस्तारको क्रममा दशरथ मन्दिरको उत्तरी पर्खाल भत्काइएपछि भवन निर्माण गरिएको हो । पालिकाले सडकपट्टि फर्काएर भवन बनाउन नदिएपछि पर्खालभित्रै पारेर बनाइएको छ । महन्त दासलाई यसअघि भैरहवास्थित लक्ष्मीनारायण मठको जग्गा बिक्री गरेको आरोपमा केन्द्रीय गुठी संस्थानले निलम्बन गरेको थियो । अदालतले कामकाज गर्न नरोक्न आदेश दिएको थियो । उक्त मुद्दा अझै अदालतमा विचाराधीन छ । कान्तिपुरबाट