सिद्धार्थनगर। बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मण्डपमै निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ एक अर्ब दुई करोडको लागतमा प्रदर्शनी केन्द्रको निर्माण कार्य भइरहेको हो । अहिले करिब ७२ प्रतिशत काम सम्पन्न भैसकेको निर्माण आयोजनाले जनाएको छ ।
६ दशमलव ४ बिघा क्षेत्रफलमा सहरी विकास मन्त्रालयमार्फत् निर्माणाधीन प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालको सबभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ । यहाँ एउटा ठूलो प्रदर्शनी हल साथै दुइवटा बैठक हल, प्रशासनिक भवन र खाजा घर, टीकट काउन्टर, फूलबारी बगैँचा लगायतको निर्माण कार्य तीब्र पारिएको छ ।
१२ हजार स्क्वायर मिटरमा निर्माण जारी ठूूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तीन सय स्टल अटाउँछन् । बैठक हल भने एउटा साढे तीन सय स्क्वायर मिटर र अर्को साढे दुई सय मिटर स्क्वायर मिटरका निर्माण भइरहेका छन् । यी सबै हलको निर्माण कार्य सम्पन्न हुँदा झण्डै साढे ८ सय स्टल राखेर मेला संचालन गर्न सजिलो हुनेछ ।
बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा आवश्यकता अनुसार अलग।अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ । जहाँ प्रदर्शनी हल र बैठक हलमा गरेर करिब २० हजार जनाले अवलोकन गर्न सक्नेछन् ।
निर्माण सकिदा ८ सय स्टल राख्न मिल्ने निर्माण कम्पनी क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीका अध्यक्ष रामकुमार थापाले बताए। ‘‘असार मसान्तसम्म समय बाँकी नै छ, हामीले धमाधम काम गरिरहेका छौं, निर्धारित मितिमै काम सकेर हस्तान्तरण गर्छौँ, पुस ७ देखि सोहि स्थानमा मेला पनि लाग्दैछ,’’ उनले भने।
दुई हजार जनाले एकैपटक खाजा खाना सक्ने गरी फुड कोर्ट पनि निर्माण भइरहेका छन् । बुटवल मण्डपको लागि जग्गा छुट्टाएपछि कम्पाउण्ड वाल निर्माण गर्दा नै बुटवल उपमहानगरपालिकासँगै रूपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ र रूपन्देही व्यापार संघले शुरुवाती ५।५ लाख रुपियाँ लगानी गरेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बताए।
यहि संरचनाभित्र पहिलोपटक राष्ट्रिय औद्योगिक,कृषि,पर्यटन महोत्सव हुदैछ । यी संरचना रहेको बुटवल मण्डपलाइ गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गर्ने बुटवल उपमहानगरपालिकाले प्रस्ताव समेत गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।
‘‘हामीले गिरिजाबाबु प्रधानमन्त्री हुदाँदेखि नै बुटवलमा स्थायी प्रदर्शनी केन्द्र बनाउन जग्गा प्राप्ती लगायतका काम गरेका हौँ,’’ उनले भने। यो प्रदर्शनी केन्द्रको पूर्व अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णु पौडेलले बिस २०७६ जेठ १३ गते सोमबार शिलान्यास गरेका थिए। २७ महिनामा निर्माण सम्पन्न गर्ने गरी थालिएको केन्द्रको कामअझै सकिएको छैन । अहिले दोस्रो पटक म्याद थपपछि निर्माण कार्य जारी छ । २०८० असार मसान्तभित्र काम सकेर हस्तान्तरण गरिने निर्माण आयोजनाको तयारी छ ।
नेपाल सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास र भवन निर्माण विभाग अन्तर्गत प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले ग्लोबल टेन्डर आह्वान गरेर क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिएको थियो। गोरखापत्रबाट