तस्बिर : प्रकाश/कान्तिपुर
बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका बाबु गलकोटे राजाको दरबारमा काम गर्थे । केसी पनि बाबुसँगै दरबार जान्थे । त्यस क्रममा गलकोट फाँटमा वर्षमा ३ बाली झुलेको देखेका थिए केसीले । हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित ८२ वर्षीय केसी अहिले उक्त फाँट घरैघरले भरिन लागेकोमा चिन्तित छन् । ‘पछिल्ला ५० वर्षमा गलकोटको अन्नभण्डार मासिँदै गएको छ,’ उनले भने, ‘बेसाहा खानै नपर्ने गलकोटेले बाहिरबाट ट्रकमा आएका चामलका बोरा तानेर खाँदा मन थाम्नै सकिँदैन ।
कुनै बेला गलकोटमा लहलह धान, गहुँ, तोरी र मकै झुलेको देखेका उनले अहिले त्यस्तो दृश्य देख्न छाडेको सुनाए । ‘घरैघरले भरिएर उब्जाउ हुने खेत मासियो,’ उनले भने, ‘सुविधाको खोजीमा बसाइसराइँ बढ्दा शहर विस्तार भयो । जसका कारण उब्जाउ हुने खेत नै धमाधम घडेरीका रुपमा बिक्री भए र घर ठडिन थाले । अहिले त खेतीको सट्टा कंक्रिटका संरचना धेरै देखिन्छ ।’
केसीको घर गलकोटकै मल्ममा पर्छ । गलकोट दरबारसम्म एक घण्टा फाँटैफाँट पैदल हिँडेर पुगेको उनले स्मरण गरे । उक्त दरबार हाल गलकोट नगरपालिका–५ हरिचौरमा पर्छ । खेतीपाती नहुने कोतघर, नजरा, श्रद्दाखेत हुँदै दरबारलाई हरिचौरमा सारिएको अभिलेख छ ।
खेती नहुने क्षेत्रमा बस्ती बसाल्ने चलनअनुरुप गलकोटका अन्तिम राजा भरतबम मल्लले दरबारलाई श्रद्दा खेत हुँदै हरिचौरस्थित सुक्खा जमिनमा सारेका थिए । यसले गलकोट राज्य खाद्यान्नमा आत्मनिर्भर रहेको पुष्टि हुने गलकोटको राजनीतिक इतिहासमा विद्यावारिधि गरेका प्रा.डा. दीनबहादुर थापा बताउँछन् ।
गलकोटको तत्कालीन जमिन, उत्पादन र जनसंख्याको अनुपातलाई केलाउँदा उत्पादितमध्ये आधाभन्दा बढी कृषि फसल निकासी हुने गरेको पाइएको उनले बताए । ‘गलकोटमा नुन र फेन्सी कपडाबाहेक केही आयात हुन्थेन,’ उनले भने, ‘चौबिसे राज्य रहँदा गलकोटको खेतीयोग्य जमिनलाई उत्पादन बढाउनमा प्रयोग गरिएको थियो ।’ राजाले पनि खेती नहुने पाखोमा दरबार बनाएर बसेकाले उत्पादनमा उनीहरू सचेत थिए भन्ने प्रस्ट हुने उनको भनाइ छ ।
बागलुङको सदरमुकाम रहँदासम्म पनि गलकोटलाई अन्नको भण्डारको रूपमा चिनिन्थ्यो । ग्राम विकासका रूपमा रहेको गलकोटबाट २०१८ सालमा बागलुङ बजारमा प्रशासनिक केन्द्र सारिएको थियो । पर्वते राजा नारायण मल्लका जेठा छोरा जितारी मल्लले १६३१ सालदेखि गरेको राज्य हो, गलकोट । जगतप्रताप मल्लको शासन १८४४ सम्म गलकोट स्वायत्त थियो । तर, राज्य खोसिएपछि जगतप्रतापले दरबार श्रद्दाखेतमा सारे । अन्तिम राजा भरत बमले १९७८ मा थालेर १९९० सालमा हालको हरिचौर बजारमा दरबार बनाएको इतिहास छ ।
गलकोटमा २१३ वर्षमा १० पुस्ता राजा हुँदा आफ्नो उत्पादनले राज्य धानेको देखिएको थापाले बताए । गलकोटका अन्तिम राजा भरतबमले संसद् सदस्य भएपछि २०१७ मा राजारजौटा हटाउने प्रस्ताव गरेका थिए । त्यतिबेला गलकोट पूर्वमा काठेखोला, पश्चिममा पाण्डवखानी, उत्तरमा म्याग्दीको रुम र दक्षिणमा गुल्मीको मुसिकोटसम्म फैलिएको थापाकै शोधमाउल्लेख छ ।
गलकोट क्षेत्रमा ९ हजार ४ सय ३ वर्ग हेक्टर खेतीयोग्य भूमि रहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । त्योबाहेक गलकोटेले पहाडी क्षेत्रमा पनि खेती गर्थे । तर, केही वर्षयता ति फाँटहरूमा घरैघर बनिरहेका छन् । कंक्रिटको सहर बस्न थालेसँगै अन्नमा आत्मनिर्भर गलकोटमा खाद्यान्न बेसाएर खानुपर्ने बाध्यता छ । आर्थिक समृद्धिमा लैजाने गलकोटे योजनामा जग्गा खण्डीकरण र कंक्रिटको बजार बन्ने होड बाधक बनिरहेको छ । नगरपालिकाको आफ्नै प्रशासकीय भवनसमेत चरौंदी फाँटमा निर्माण गरिरहेको छ । नगर कार्यालय नै फाँटमा बन्ने भएपछि घरैघरले भरिनु नौलो नभएको गलकोट–६ का अध्यक्ष रामप्रसाद कँडेलले बताए ।
यसअघिकै कार्यपालिकाले चरौंदी फाँटमा स्थानीयको ९ रोपनी जमिन किनेर भवन निर्माणको ठेक्का लगाएको हो । अहिले गलकोटको हटिया, हरिचौर, चरौंदी फाँट र मल्मको आँगखेतमा बजार विस्तार भइरहेको छ । ‘पहिला खेतैखेत र कुलो मात्रै भएको हटियामा अहिले घरैघर भए,’ स्थानीय भीमकली श्रीषले भनिन्, ‘जेठदेखि नै धान रोप्ने चटारो देखिने गलकोटको फाँटमा भ्याइनभ्याइ घर ठड्याउने प्रतिस्पर्धा छ ।’
गलकोट नगरले भवन निर्माणसंहिता चालु वर्षदेखि कार्यान्वयनमा ल्याएको छ । साउनयता ७ सय घरले नक्सापासको प्रमाणपत्र लिएका छन् । यसअघि कति घर बने भन्ने नगरपालिका पनि जानकार छैन । ठूलो मात्रामा जग्गा खण्डीकरण भइसकेको छ । ‘बसाइँसराइ धेरै छ, फाँटमा घर बनाउन नदिए बस्ती रित्तो हुन्छ,’ नगर प्रमुख भरत शर्मा गैरेले भने, ‘सकेसम्म केही खण्ड जोगाउने लक्ष्य छ तर वैदेशिक रोजागारीको कमाइपछि चितवन र बुटवल झर्नेको लर्को जोगाउन पनि यहीं बस्न दिन बाध्य छौं ।’
नगरपालिकाका इन्जिनियर बलविक्रम शाहका अनुसार अहिलेकै रफ्तारमा घर बन्ने हो भने यहाँका सबै फाँट घरले भरिने छ । घरहरूको लगत संकलन बल्ल थालेको उनले बताए । केही वर्षयता काम गर्ने जनशक्ति विदेश पलायन हुँदा भएकै खेतीयोग्य जमिनमा पनि बाली लगाइने गरेको छैन । ‘वर्षमा तीन बाली हुने चरौंदी फाँटमा अहिले धेरैको जग्गा बाँझै छ,’ थापाले भने, ‘लेक, मध्यम र औल बसाइँ र सोहीअनुसारकै खेती हुने गलकोटमा अहिले एक खेती मात्रै हुन्छ ।’ कतैकतै दुई खेती भए पनि काम चलाउ मात्रै भएको उनले बताए ।
गलकोटेले गर्मी मौसममा उच्च पहाडी बस्तीमा गोठ सार्थे । किसानले त्यहीं बसेर खेती गर्थे । जौ, उवा, आलु र भाँगो लगाउने माथिल्लो बस्ती सबै विस्थापित भइसकेको स्थानीय झहरसिंह खत्रीले बताए । ‘औल बिग्रे लेकले, लेक बिग्रे औलले बचाउँथ्यो,’ गलकोट–५ हरिचौरका पूर्वअध्यक्ष नारायणध्वज मल्लले भने, ‘मौसम बिग्रियो भने पनि लेक र बेसीमा एकैपटक उत्पादनमा असर पर्थेन ।’ नुन लिन जाँदा टिनमा घिउ बोकेर गएको उनले स्मरण गरे । भने, ‘नगद खर्चनै पर्थेन, अहिले नगदबिना चुलो बल्दैन ।’
थापाका अनुसार २०४५ सालसम्म गलकोटमा वस्तु विनमय प्रणाली थियो । ‘रेमिट्यान्स भित्र्याएर सौखिन बन्दा गलकोटको पहिचान पनि गुम्दै छ,’ उनले कारण औंल्याए ।
उत्पादन घट्नुमा मानिसको सुविधा खोज्ने प्रवृत्ति प्रमुख रहेको बताउँछन्, पूर्वशिक्षक टंक केसी । ‘गलकोटे भनेपछि मोजमस्तीमा रमाउने भन्ने बनिसकेको छ,’ उनले भने, ‘आफ्नो इतिहास आफैंले लुटेका छौं ।’ फाँट जोगाएर गाउँमा बसेकाहरू उत्पादन छाडेर घर बनाउने होडमा निस्कँदा अन्नभण्डार रित्तिएको उनको भनाइ छ । कान्तिपुरबाट