पाल्पा। कालीगण्डकी करिडोर (उत्तर–दक्षिण) आयोजनाअन्तर्गत पीपलडाँडा–गैंडाकोट सडक खण्ड निर्माण ८० प्रतिशत सकिएको छ । घरटहरा हटाउन नसक्दा कतिपय स्थानमा तीन वर्षदेखि काम रोकिएको थियो । केही स्थानमा रूख कटानको अनुमति नपाएर पनि काम अघि बढेको थिएन ।
‘घरटहरा हटाउनुपर्नेमा क्षतिपूर्ति दिएका छौं,’ कालीगण्डकी करिडोर आयोजना कार्यालय बर्तुङका सूचना अधिकारी पवित्रमणी आचार्यले भने, ‘जंगल क्षेत्र पर्नेमा केही काम बाँकी रहे पनि छिटै समस्या समाधान हुनेछ ।’
पाल्पाको पीपलडाँडादेखि पूर्व नवलपरासीको गैंडाकोटसम्म १ सय ३२ किलोमिटर सडक कालोपत्र गर्न भारतीय निर्माण कम्पनी इकेके इन्फ्राइस्ट्रक्चरले ठेक्का लिएको छ । जसको कुल लागत साढे ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ छ । भारत सरकारको ऋण सहयोगमा कालोपत्र भइरहेको हो । ‘पछिल्ला दिनमा काम धमाधम चलिरहेको छ,’ आचार्यले भने, ‘कालोपत्र गर्ने काम बाहेक स्ट्रक्चरको कामले गति लिएको छ ।’ १ सय ११ किलोमिटर कालोपत्र सकिएको छ । उनले फागुनदेखि बाँकी कालोपत्र पनि सुरु गरिने बताए । पहिरो खसेको, घरटहरा हटाउन विवाद भएको र जग्गा विवाद भएका केही स्थानमा बीचबीचमा काम बाँकी छ । ‘रोकिएका स्थानमा स्थानीय तहसँगको समन्वयमा काम अघि बढेको छ,’ उनले भने ।
२०७८ भदौ ८ म सक्नेगरी ठेक्का लिए पनि निर्माण व्यवसायीले दुई पटक म्याद थपिसकेको छ । २०८० असार २३ सम्म सक्ने गरी काम अघि बढेको उनले बताए । यो सडकलाई भारत र चीन जोड्ने आर्थिक, सांस्कृतिक र पर्यटकीय महत्त्वको त्रिदेशीय पारवहन मार्गका रूपमा सञ्चालनमा ल्याउन खोजिएको हो । सूचना अधिकारी आचार्यका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत पीपलडाँडा–गैडाकोट सडक खण्डको २१ किलोमिटर क्षेत्रमात्र अब कालोपत्र गर्न बाँकी छ । कामको गुणस्तरमा भने ध्यान नदिएको स्थानीयको आरोप छ । ‘नाली निर्माण, ग्याभिएन, सडक पर्खाल, तार जाली लगाउने काममा गुणस्तर देखिएन,’ रामपुर नगरपालिका–१० का जयप्रसाद अधिकारीले भने, ‘रेखदेख गर्ने निकायको ध्यान पुग्नपर्छ ।’
करिडोरअन्तर्गत तीन वर्षअघिदेखि रोकिएको रामपुर नगरपालिका–५ मटेरी र भलायटारमा सडक निर्माण सुरु भएको छ । मटेरी ठूलोटार खण्डमा सार्वजनिक जग्गा संरक्षण पक्ष र त्यस क्षेत्रमा घर जग्गा पर्नेहरूबीच तीन वर्षदेखि विवाद थियो । ‘रामपुर नगरपालिकाले पहल गरेर काम अघि बढेको छ,’ सूचना अधिकारी आचार्यले भने, ‘नगरपालिकाले सूचना निकाल्ने र विवाद समाधानका लागि पहल गरेर काम अघि बढाउन सकिएको छ ।’
पीपलडाँडा–गैंडाकोट अन्तर्गत पूर्व नवलपरासी सडक खण्डमा पर्ने स्थानमा रूख कटानका लागि अनुमति नपाएपछि काममा ढिलाइ भएको छ । पूर्व नवलपरासीको भोक्राफाँट, ढोडेनी, महेश्वरी खोला, तरंगा खोलालगायतका क्षेत्रमा अझै पनि रुख कटानको अनुमति नपाएको हो । सूचना अधिकारी आचार्यका अनुसार यसका लागि पहल भइरहेको छ । ‘कालोपत्र गर्ने काम रोकिएपछि रूख कटान अनुमतिका लागि स्वीकृति मागेको महिनौं भइसक्यो, अझैसम्म स्वीकृत भएको छैन,’ उनले भने । वन मन्त्रालयमै फाइल अड्किएर बस्दा समस्या भएको हो । यसअघि कतिपय स्थानमा मुआब्जाले गर्दा समस्या थियो । रूख काट्ने अनुमति पाउने हो भने काम तोकिएकै समयमा हुने उनले बताए । गैंडाकोट–पीपलडाँडा खण्डको पूर्वनवलपरासीमा ७ किलोमिटर खण्डमा १ हजार ५८ वटा रूख काट्नुपर्ने हुन्छ ।
कालीगण्डकी करिडोर सडक आयोजनाको कुल ४ सय ३५ किलोमिटर लम्बाइको सडकलाई तीन खण्डमा विभाजन गरेर काम भइरहेको छ । वर्षौंदेखि अलपत्र पाल्पा खण्डमा ५ सय मिटर ट्र्याक गत वर्ष खुलेको हो । यस सडकको स्तरोन्नति हुँदा गैंडाकोटदेखि मुस्ताङको कोरला नाकासम्म यातायात सहज सञ्चालन गर्न सकिनेछ । सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको कालीगण्डकी करिडोरको पहिलो खण्ड भारतको ठुटीबारी नाकादेखि पूर्वी नवलपरासीको गैंडाकोट हो । गैंडाकोटदेखि पाल्पाको राम्दी दोस्रो खण्डमा पर्छ । कान्तिपुरबाट