वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडा अहिले झिलिमिलि बनेको छ । उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा चोकचोकमा बत्ती जडान गरेसँगै ३२ वटै वडा झिलिमिल बनेको हो ।
टोलटोलमा रहेका पोल र सडकमा वत्ति जडान गर्ने काम सकिएको महानगरपालिकाको विद्युत शाखाका इन्जिनियर राजिब कुमार उपाध्यायले जानकारी दिए ।
संघ सरकारको ५० प्रतिशत अनुदान र वीरगञ्ज महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको अभियानअन्तर्गत ३२ वटै वडामा १३ हजारभन्दा बढी बल्ब जडान गरिएको छ ।
३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भए पनि गएको असारसम्ममा ६० प्रतिशत पनि काम हुन सकेको थिएन ।
महानगरपालिकाले असार १९ गते स्वेतपत्र सार्वजनिक गर्दै यस अघिको नेतृत्वका कारण उज्यालो अभियान कार्यक्रम सम्पन्न गर्न ढिलाइ भएको उल्लेख गरेको थियो ।
नयाँ नेतृत्व आएसँगै कामलाई तिब्रता दिएपछि तीन महिनामा अभियान अन्तर्गत बल्ब, कन्ट्रोल प्यानल लगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिल बनेको हो ।
सम्झौताअनुसार १०० बाट, ६० बाट र ४० बाटको गरी कूल १३ हजार ३ सय ९० वटा बत्ती र १ सयभन्दा बढी कन्ट्रोल प्यानल जडान गर्ने काम सकिएको शाखाका इन्जिनियर उपाध्यायले जानकारी दिए ।
केही वडामा पहिले जडान भएको बत्ती नबल्ने समस्या देखिएकोमा त्यसलाई हटाएर नयाँ जडान गरेसँगै अहिले अधिकांस बत्ती बल्ने गरेको छ ।
सूर्योदय उर्जा, तोप्सन इनर्जी जेभी, काठमाण्डौले २३ करोड ९६ लाख २४ हजार १ १२७ रुपैयाँमा ठेक्का सकार गरेर काम गरेका थिए । सुरुमा एक वर्षभित्रै काम सक्ने सम्झौता भएकोमा अहिले आएर मात्रै काम अन्तिम चरणमा पुगेको हो ।
जडान भएका बत्तीमा कुनै समस्या देखिए तत्काल खबर गर्न पनि महानगरको विद्युत् शाखाले सबैलाई आग्रह गरेको छ । विगतमा बत्ति नबलेको गुनासो दैनिक आउने गरेको भए पनि अहिले मर्मत र जडानको कामलाई तिब्रता दिएकाले गुनासो आउन पनि कमि भएको छ ।
आएका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी टोली परिचालन हुने हुँदा गुनासो आउन कम भएको बताउँछन् विद्युत शाखाका इन्जिनियर उपाध्याय बताउँछन् ।