फाइल तस्बिर
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६, रातो ढुङ्गामा सवस्टेशन निर्माण कार्य विगत ४ वर्षदेखि रोकिएको छ। चार वर्ष अघि नै सम्पन्न हुनु पर्ने ३३(११ केभी क्षमताको सवस्टेशन निर्माण व्यवसायीको लापरबाही र जग्गाधनीको अवरोधका कारण रोकिएको हो।
पर्वतको जलजला गाउँपालिका–४ ,मोहन चोक देखि रातो ढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रसारण लाइनको पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले चार वर्षदेखि काम रोकिएको आयोजनाले जनाएको छ।
सवस्टेशन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ ।
नेपाल बिद्युत् प्राधिकरण मार्फत ए टु जेड इन्जिनियरिङले आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन र प्रसारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुवाती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । सवस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो । सोही कम्पनीले ठेक्का लिएको दुखु, निस्कोट, अर्मनका विभिन्न ठाउँमा ११ केभी क्षमताको वितरण लाइनले पनि पूर्णता नपाएको बताइएको छ।
निर्माण कम्पनीले विवाद समाधान गरेर पोल गाड्ने र तार तान्ने वातावरण भएमा दुई महिनाभित्र सवस्टेशन चार्ज गर्न सकिने बताएको छ।
प्राधिकरणका गण्डकी प्रदेशका निर्देशक जगदीशचन्द्र जोशीले जनप्रतिनिधिहरुले चासो दिएकाले स्थानीय समस्या समाधान हुने भएकाले कामलाई तिब्रता दिन आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका छन् । आयोजनाका अधिकारी, प्राविधिक, निर्माण व्यवसायी र मजदुरहरू गत जेठ महिनादेखि आयोजना स्थलमा छैनन्।
सवस्टेशन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालीका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेपाल बिद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले जनाएको छ।