म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६, रातो ढुङ्गामा सवस्टेशन निर्माणमा ढिलाइ भएको छ । चार वर्ष अघि नै सम्पन्न हुनु पर्ने ३३–११ केभी क्षमताको उक्त सवस्टेशन ठेकेदारको लापरबाही र जग्गाधनीको अवरोधका कारण निर्माण हुन नसकेको हो ।
पर्वतको जलजला गाउँपालिका–४ ,मोहन चोक देखि रातो ढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रसारण लाइनको पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले चार वर्षदेखि काम रोकिएको आयोजना प्रमुख बोधराज ढकालले बताए।
सवस्टेशन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ । ‘सवस्टेशन भित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । ५०० वटा मध्य तीन ठाउँमा करिब ५० वटा पोल गाड्न र तार तान्ने काम चार वर्षदेखि रोकिएको छ,’ उनले भनै ‘बाँकी पोल गाड्न र तार तान्न नपाउँदा आयोजनाले पूर्णता पाउन नसकेको हो।’
नेपाल बिद्युत प्राधिकरण मार्फत ए टु जेड इन्जिनियरिङले आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सवस्टेशन र प्रसारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुवाती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । सवस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो । सोही कम्पनीले ठेक्का लिएको दुखु, निस्कोट, अर्मनका विभिन्न ठाउँमा ११ केभी क्षमताको वितरण लाइनले पनि पूर्णता नपाएको मालिका–१,का वडा अध्यक्ष टङ्कप्रसाद पुनले बताए।
निर्माण कम्पनीका प्रतिनिधि सागर लुइँटेलले सवस्टेशन भित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार सवस्टेशनमा कन्ट्रोल रुमको भवन अन्तिम चरणमा पुगेको छ । उनले थपे ,‘विवाद समाधान गरेर पोल गाड्ने र तार तान्ने वातावरण भएमा दुई महिनाभित्र सवस्टेशन चार्ज गर्न सकिन्छ ।’
बर्खामा केही ठाउँमा गाडेका पोल बगाएको छ । ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन् । पोल गाडिएको ठाउँमा तार समेत तानेका छन् । कर्मचारी आवास र प्रशासनिक भवन अधुरा छन् । गण्डकी प्रदेशसभा सदस्य रमेशबहादुर जुग्जालीले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर ठेकेदारलाई काममा फर्काएको बताए।
प्राधिकरणका गण्डकी प्रदेशका निर्देशक जगदीशचन्द्र जोशीले जनप्रतिनिधिहरूले चासो दिएकाले स्थानीय समस्या समाधान हुने भएकाले कामलाई तीव्रता दिन आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए। आयोजनाका अधिकारी, प्राविधिक, निर्माण व्यवसायी र मजदुरहरू गत जेठ महिनादेखि आयोजना स्थलमा थिएनन् ।
सवस्टेशन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालीका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेपाल बिद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए। उनले २० किलोमिटर दुरीसम्म एउटा सवस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको बताए। ‘हाल मिलन चोक सब स्टेसनबाट चार वटा फिडरबाट लामो दुरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ,’ उनले भने। गोरखापत्रबाट