सिन्धुपाल्चोक। सुनकोशी गाउँपालिका –५ सुनखानी रतनकोटमा छयुखोर लिङ मणी गोन्पा गुम्बा निर्माण भएको छ। स्थानीय पूर्वाधार विभाग भूकम्पीय पुनः निर्माण ललितपुरको ४० लाख, सुनकोसी गाउँपालिकाको –१२ लाख र बाँकी रकम व्यवस्थापन समितिका अध्यक्ष र क्षमादानबाट गरी ५५ लाख ६४ हजार ९७६ रुपियाँको लागतमा सो गुम्बा निर्माण भएको गुम्बा हो।
व्यवस्थापन समितिका अध्यक्ष घ्याम्छो लामाले उक्त गुम्बा निर्माणका लागि १४ आना १ पैसा १ दाम क्षेत्रफलको जग्गा दान गरेर गुम्बा निर्माण भएको हो । गुम्बा निर्माणका लागि २०७८ पुस २२ गते पूर्वाधार विभाग भूकम्पीय पुनः निर्माण कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद शर्मा, तत्कालीन सुनकोसी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर बस्नेत र गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष घ्याम्छो लामासहितको तीन पक्षबीच सम्झौता भएको थियो ।
पूर्वाधार विभागबाट सम्झौताअनुरूपको रकम प्राप्त भएको र उपभोक्ता समितिबाट पनि सम्झौता भएअनुसारका रकम प्राप्त भए पनि सुनकोसी गाउँपालिकाले सम्झौताअनुरूपको रकममा पाँच लाख मात्रै रकम दिएकाले बाँकी सात लाख रकम उपलब्ध गराउन ढिलाइ गरेको बताइएको छ।
गुम्बाको सबै काम सम्पन्न भएको छ, अघिल्लो स्थानीय सरकारले सम्झौता गरेको रकम समितिलाई भुक्तानी दिन ढिलाइ हुँदा तिरोतारो, झयालढोका हाल्न, रङरोगन गर्न समस्या उत्पन्न भएको समितिले जनाएको छ।
२०६३ मा सो ठेगानाको धारास्थित पुरानो छयुखोर लिङ मणी गोन्पा गुम्बा थियो । २०७२ को भूकम्पले सो गुम्बा भत्काएपछि सुनकोसी गाउँपालिकाबाट एक लाख रकम विनियोजन भई मर्मतसुधार र छाना हाल्ने काम भएको थियो । बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिको पहलमा सो गुम्बा पुनः निर्माणका लागि स्थानीय पूर्वाधार विभाग भूकम्पीय पुनः निर्माण कार्यालयबाट ४० लाख बजेट विनियोजन भएको थियो ।
स्थानीय समाजसेवी समेत रहेका घ्याम्छो लामाले ६३१ नम्बरको १४ आना बढी जग्गादान गरेर साढे दुई तलाको आकर्षक नयाँ गुम्बा निर्माण भएको छ ।