पोखरा। पोखराको लेकसाईड बाट पंचासे सम्म जाने मोटरबाटो अन्तर्गत पामे बाट घांटीछिना सम्म पुग्ने मोटरबाटो निर्माणमा कमशल सामानको प्रयोग र आर्थिक अनियमितताको संभावना देखिएपछि स्थानीयहरुले विरोध गरेका छन ।
बैदाम पामे घांटीछिना सिधाने सम्म पुग्ने मोटर बाटो अपग्रेड गर्ने भनि १५ करोड ३१ लाख ५८ हज़ार बढीको काम बिरुवा नयांबाटो सिम्रोन जोईन्ट भेन्चरले झण्डै ३२ प्रतिशत घटेर १० करोड ५० लाख ११ हज़ार रुपैयामा ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता अनुसार यही २०७९ ज्येष्ठ महिनाको २७ गते उक्त सड़क अपग्रेड गर्ने काम सम्पन्न हुनुपर्ने भएपनि ठेकेदारको ढिलाईले सात महिना बित्दा समेत काम सकिएको छैन ।
निर्माण कार्य सकिनुपर्ने बेलामा नै स्थानीय हरुले ठेकेदारलाई बारम्बार सम्पर्क गरि यथाशीघ्र काम शुरु गर्न ताकेता गरेका थिए तर ठेकेदारका प्रतिनिधिले कहिले वर्षाको समय , कहिले कामदारको अभाव , कहिले दशैं तिहार जस्ता चाडवाड र कहिले चुनाव भन्दै समय गुजार्दै गएको बुझिएको छ ।
स्थानीय हरुको दवाव ठेकेदारका प्रतिनिधि हुंदै पोखरा महानगर सडक शाखा र महानगरका प्रमुख प्रशासकिय अधिकृत हुंदै मेयर सम्म पुगेपछि मात्र ठेकेदारले काम शुरु गरेको बताईन्छ ।
जतिबेला उनले काम शुरु गरेका थिए त्यतीबेला नै उनले सड़क निर्माण पुरा गरेर हस्तान्तरण गर्नुपर्ने समय आईसकेको थियो तर आंफ्नो निर्धारित समय सकिएपछि मात्र सड़क स्तरोन्नती गर्ने काम शुरु गरेको ठेकेदारले त्यसै बेला काम गर्नका लागि समय थप गरिपाउं भनि पोखरा महानगरपालिका समक्ष निवेदन समेत दिएको बुझिएको छ ।
एकातिर सड़क स्तरोन्नती गर्नको लागि बिनियेजित बजेट भन्दा झण्डै ३२ प्रतिशत कममा ठेक्का लिनु , त्यसमाथी समयमा नै काम नगर्नु र काम शुरु गर्दा समेत अत्यन्त कमशल सामग्रीको प्रयोग गर्नुले उक्त सड़क निर्माणमा अनियमितता को सम्भावना बढेको स्पष्ट हुन्छ ।
स्थानीय बिष्णु प्रसाद भण्डारीले पामेबाट कास्कीकोट हुंदै घांटीछिना पुग्ने बाटोको स्तरोन्नती गर्ने कार्यको अनुगमन गर्दा बिभिन्न बहाना बनाएर काममा ढिलाई गरिएको र पछिल्लो समय निर्माण सामग्री समेत अत्यन्त कम गुणस्तरको प्रयोग गर्न लागिएको पाईएकोले त्यसलाई सुधार गर्नुपर्नेमा सबैको जोड रहेको जानकारी दिए ।