सर्लाही। सर्लाहीको जब्दी र रामपुर जोड्ने गरी फुलजोर खोलामा पुल निर्माण भएको छ । ३ वर्ष ४ महिनामा सक्ने गरी २०७३ चैत २१ मा सम्झौता भए पनि पुल बन्न थप त्यति नै समय लागेको छ । पुल निर्माण सक्न तोकिएको म्यादभन्दा दोब्बर समय लाग्नुमा ठेकेदारकै लापरबाही मुख्य कारण रहेको स्थानीय बताउँछन् ।
लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्ने गरी फुलजोर खोलामा पुल बनाउन पप्पु–शिवशंकर जेभीले ठेक्का सकारेको थियो । सम्झौताअनुसार २०७६ साउन १९ मै काम सक्नुपर्ने थियो । तर, म्याद सकिएको ३ वर्ष ४ महिनापछि बल्ल निर्माणले पूर्णता पाएको हो । तर, अझै हस्तान्तरण भने भइसकेको छैन । त्यसका लागि अझै केही दिन लाग्ने ठेकेदार पक्षको भनाइ छ ।
वर्षौंदेखि अलपत्र पुलको निर्माण कार्य पूरा भएकोमा स्थानीय भने खुसी छन् । पुल नहुँदा बर्खामा भेलमै हेलिएर वारपार गर्नुपर्ने अवस्था अब नरहने उनीहरूको भनाइ छ । जब्दीका अर्जुन चौधरीले निर्माण सक्न तोकिएको भन्दा दोब्बर समय लागेकोमा असन्तुष्टि पोखे । तर, ढिलै भए पनि पुल बनेकोमा उनले खुसी प्रकट गरे । ‘साढे ३ वर्षअघि नै बन्नुपर्ने पुल बल्ल सञ्चालनमा आउने भएको छ । ठेकेदार र सरकारी उदासिनताका कारण नै ढिलाइ भएको हो,’ उनले भने, ‘जे होस अब जोखिम मोलेर खोलामै हेलिएर तर्नुपर्ने बाध्यताको अन्त हुने भयो ।’
पुल बनाउन १४ करोड ९८ लाख ९० हजार ५ सय ८१ रुपैयाँ लागत अनुमान रहेकोमा पप्पु–शिवशंकर जेभीले १२ करोड २५ लाख ४७ हजार १ सय १७ रुपैयाँमा ठेक्का पाएको थियो । तर, ठेक्का लिनेबित्तिकै काम सुरु गरिएन । म्याद सकिन ११ महिना मात्र बाँकी रहँदा बल्ल निर्माण कार्य थालिएको थियो । म्याद थप गरेर काम गरिरहे पनि गतवर्ष असारमा पुलको ढलान गरेकै राति आएको बाढीले पुलको केही भाग बगायो । जसले केही समय निर्माणकार्य नै रोकिएको थियो । त्यसयता ठेकेदारलाई निरन्तर ताकेता गरेपछि मात्र पुलले पूर्णता पाएको ईश्वरपुर–८ का वडाध्यक्ष श्याम थापाले बताए । ‘निरन्तरको ताकेता नभएको भए अझै पनि पुल बन्ने अवस्था थिएन, यस क्षेत्रका नागरिकको दुःखकष्ट यथावत् नै हुन्थ्यो,’ उनले भने, ‘पुल बनाउनका लागि हाम्रो दबाब सफल रह्यो ।’
पुलबाट ईश्वरपुर, लालबन्दी र हरिपुर नगरपालिकाका सबै बस्तीका बासिन्दा लाभान्वित हुनेछन् । वारिपारि कालोपत्र सडक रहे पनि पुल नबन्दा स्थानीय फुलजोर खोला तरेरै आवतजावत गर्दै आएका छन् । कान्तिपुरबाट