काठमाडौं। कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएको छ । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण शुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर सडकलाई समयमै सम्पन्न गर्नका लागि तीन खण्डमा ठेक्का गरिएको थियो । माटो तथा ग्राभेललगायतका निर्माण सामग्री नपाएकै कारण समयमा काम सम्पन्न गर्न नसकिएको जनाइएको छ ।
स्थानीय सरकारसँग सहयोग माग्दा समन्वय नगरेको र सडकको बेसका लागि चाहिने माटो र ग्राभेल समयमा नपाएका कारण काम समयमा सम्पन्न हुन नसकेको कम्पनीको गुनासो छ । सडकको पहिलो खण्ड अर्थात् लम्कीदेखि पथरैयासम्मको सडक कालोपत्रेको जिम्मा पाएको कालिका कुमार जेभीका साइड प्रमुख हरिनाथ योगीले काम भइरहेको बताए ।
उनले कोरोनाका कारण भएको बन्दाबन्दी, बर्सातको समयमा काम हुन नसक्नु र ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य निर्माण सामग्रीको अभावका कारण काम समयमै सम्पन्न हुन नसकेको बताए । सडकको ६५ प्रतिशत काम सम्पन्न गरेको दाबी उनले गरे । सडकको एक हजार आठ सय मिटर कालोपत्र गरिएको र आगामी जेठ मसान्तभित्र सडक कालोपत्रको काम सकाउने उनको भनाइ छ ।
“हामी धमाधम काम गरिरहेका छौँ आगामी जेठ मसान्तसम्म सबै काम सक्नेगरी काम थालेका छौँ”, उनले भने, “अब ढिलाइ हुँदैन । नदीजन्य पदार्थको आपूर्तिमा समस्या भएका कारण पनि काममा अवरोध भएको छ । सहयोग र समन्वय भनेअनुसार पाएका छैनौँ ।” दोस्रो खण्डको एपेक्स खड्का कृष्ण जेभी र तेस्रो खण्डको रायमाझी गल्वा जगदम्बा जेभीले निर्माण गरिरहेको छ । दुई निर्माण कम्पनीको प्रगति पहिलो खण्डको भन्दा कम छ ।
एपेक्स खड्का कृष्ण जेभीको पहिलो चरणको सम्झौता म्याद नै सकिएको छ । म्याद सकिँदासम्म सडकको ४० प्रतिशत काम सम्पन्न भएको साइड इञ्चार्ज प्रमोदकुमार मण्डलले बताए । उनले पनि माटोको अभावका कारण काम गर्ने सिजनमा खाली बस्नुपर्दा समयमा काम सम्पन्न गर्न नसकिएको बताए । “सबैभन्दा बढी समय माटोको खोजीमा बित्यो । त्यसपछि बिजुली पोल, खानेपानी पाइप र कोरोनाका कारण पनि काममा प्रभावित भयो ।” उनले भने, “सडकक बेसको काम करिब सम्पन्न भइसकेको छ । बेसको काम पूरा भएपछि कामको प्रगति देखिने छ ।” सडकको म्याद एक वर्ष थपका लागि निवेदन दिएको उनले बताए ।
तेस्रो खण्डको सडक निर्माणको जिम्मा पाएको रायमाझी गाल्भा जगदम्बा जेभीका साइड प्रमुख चन्द्र लम्सालको गुनासो पनि उस्तै छ । उनले स्थानीय सरकारकै सहयोग नपाएको गुनासो गरे । “हामीले सडकको लागि एक वर्ष पहिला नै क्रसरका लागि अनुमति मागेका थियौँ । बल्ल अहिले अनुमति पाएका छौँ ।” उनले भने, सडकको बेसको लागि चाहिने माटो र ग्राभेल नपाउँदा त्योभन्दा बढी समस्या भएको थियो ।
अहिले आएर समस्या समाधान हुँदै जाँदा कामले गति लिएको उनको भनाइ छ । काम गरिरहेको आयोजनाको म्याद यहीँ पुस १३ गते सम्पन्न हुँदैछ । उनका अनुसार सडकको काम सम्पन्न गर्न अर्को असारसम्म लाग्नसक्ने देखिएको छ ।
उक्त सडक लम्की बजारबाट दक्षिणतर्फ झण्डै दुई किलोमिटर, टीकापुर बजार क्षेत्रमा झण्डै चार किलोमिटर र अन्य क्षेत्रमा गरी सात किलोमिटर चार लेनको बाटो हुनेछ भने बाँकी दुई लेनको हुनेछ । पहिलो खण्डको आठ किलोमिटर सडकका लागि २०७७ जेठ २८ गते रु ४० करोड १९ लाखमा सम्झौता भएको थियो । दोस्रो खण्डको १० किलोमिटर सडकका लागि २०७७ जेठ २६ गते रु ४० करोड ९९ लाखमा सम्झौता भएको थियो भने त्यसको गएको मङ्सिर २६ गते सम्झौता म्याद सकिएको छ । त्यस्तै तेस्रो खण्डको लागि २०७७ असार १४ गते रु ३३ करोड २० लाखमा हुलाकी राजमार्ग निर्देशनालयसँग सम्झौता भएको थियो ।