तनहुँ। तनहुँको व्यास नगरपालिका सरसफाइ केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापनमा जुटेको छ। फोहरमैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि जग्गा खरिद गर्न लागेको हो।
त्यसका लागि व्यास–१३ मा रहेको युगिन कृषि फार्म प्रालिको करिब ४० रोपनी जग्गा खरिद गर्न प्रक्रिया अगाडि बढाइएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए। उक्त जग्गा सम्बन्धमा नगरपालिकामा प्रस्ताव आएकाले स्थानीयवासीसँग छलफल एवं समन्वय गरी खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ।
स्थापनाको ३० वर्षसम्म पनि नगरपालिकाले फोहरमैला केन्द्र बनाउन सकेको छैन। यसअघि व्यास–३ मादीस्थित भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले उक्त ठाउँ मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो। उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेँमा फोहर फाल्दै आएको छ।
दमौली हुँदै चितवनसम्म पुग्ने बुद्धसिंमार्गमा जथाभावी फोहर फालिँदा उक्त मार्ग नै दुर्गन्धित भएको छ । फोहर फाल्ने ठाउँको अभावमा सोढेंमा लगेर फोहर फाल्नुपर्ने बाध्यता रहेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । ‘दीर्घकालीनरूपमा सरसफाइ केन्द्र बनाउने विषयमा नगरपालिका लागिपरेको छ’, उनले भने, ‘फोहर फाल्ने ठाउँ नै नभएपछि अहिले तत्कालका लागि बुद्धसिंमार्गको सोढेंमा फोहर फालिएको छ ।’
यसअघि नगरपालिकाले व्यास–१० स्थित मङ्गलीगैह्रामा सरसफाइ केन्द्र बनाउने तयारी गरेको थियो । तर त्यहाँ स्थानीयले विरोध गरेपछि नगरपालिकाले त्यसबाट पछि हटेको थियो । व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर सङ्कलन गर्दै आएको छ ।
नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकाले सरसफाइ केन्द्र निर्माणका लागि वालिङ नगरपालिकाले बनाएको फोहरमैला व्यवस्थापन केन्द्रको पनि अध्ययन अवलोकन गरेको थियो ।