दमौली। तनहुँमा एक वर्षमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ। गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार ३५४ घरधुरीमा खानेपानी विस्तार भएको हो।
‘एक घर–एक धारा अभियान’ मार्फत निजी घरमा खानेपानी सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले जनाएको छ। उक्त अवधिमा ११ खानेपानी आयोजना सम्पन्न भएका छन्। त्यस्तै १९ आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ।
जिल्लामा हालसम्म ९२.४२ प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुगेको छ। २०७८ को जनगणनाअनुसार यहाँ तीन लाख २७ हजार ६२० जनसङ्ख्या रहेकोमा हालसम्म तीन लाख दुई हजार ७९९ जना खानेपानीबाट लाभान्वित भएको खानेपानी कार्यालयले जनाएको छ। एक वर्षको अवधिमा पाँच हजार २२१ जना खानेपानी योजनाबाट लाभान्वित भएका छन्। गण्डकी प्रदेश सरकारबाट उक्त अवधिमा ११ खानेपानी योजना सम्पन्न भएको छ।
निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा कार्यालयले अपजस व्यहोर्नुपरेको कार्यालयले बताएको छ। बाढीपहिराका असर, मर्मतमा दबाब आउनु, खानेपानी योजनामा विद्युतीय कार्य सहज नहुनु, आयोजनाको सङ्ख्याको तुलनामा न्यून बजेट विनियोजन हुनु, जनप्रतिनिधि तथा स्थानीय उपभोक्ताबाट आयोजनाले नसमेटेको स्थानमा पाइप तथा फिटिङ्सको माग गर्नु आदि कारणले काम गर्न असहज हुँदै आएको कार्यालयले जनाएको छ।
कार्यालयले नयाँ खानेपानी आयोजनाको माग, सर्वेक्षण, डिजाइन, निर्माणकार्य कार्यान्वयन, आयोजनाको सामग्री निकासा, खानेपानी आयोजनाको निर्माणमा प्राविधिक सहयोग, आयोजनाको अनुगमन, निरीक्षण, सुपरीवेक्षण, मूल्याङ्कन तथा भुक्तानीलगायतका काम गर्दै आएको छ।