काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ बनेको सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन्। प्रधानमन्त्री ‘प्रचण्ड’लाई नेपाल बधाइ दिन पुगेका उद्योग परिसङ्घका पदाधिकारीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ प्रतिनिधिमण्डलले मङ्गलबार बिहान खुमलटार पुगेर प्रचण्डलाई बधाई दिएका थिए।
भेटमा परिसङ्घका अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिए।
परिसङ्घले सङ्कटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा प्रधानमन्त्रीसमक्ष पेश गरे ।
परिसङ्घले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलगायतलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय सुझाएको छ ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताएका छन् । उनले भने, ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेका थिए । परिसंघले स्पष्ट रुपमा सुधारका योजना दिएको छ, यसका लागि परिसङ्घलाई धन्यवाद।’
प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमा रहेको र यसका लागि परिसङ्घसँग सरकारले सहकार्य गर्ने बताए। उनले भने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौँ । निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौँ ।’