काठमाडौं। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको तालखर्कस्थित बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन–पाठनमा कठिनाइ भइरहेको छ । आवश्यक भवन तथा फर्निचरको व्यवस्था नहुँदा शैक्षिक क्रियाकलाप प्रभावित भएको प्रधानाध्यापक प्रकाश राई बताउँछन् ।
१५ वडा रहेको नगरका सबै विद्यालयमा पक्की भवन निर्माण हुँदा बालकन्या प्राविमा २०४४ र २०४६ सालमा बनेको भवनमै पठन–पाठन भइरहेको छ । दिक्तेल–पाथेका र दिक्तेल–खार्मी सडकको किनारामा रहेको विद्यालय प्रांगणबाट कैयौं नेता, सांसद, स्थानीय सरकार प्रमुख लगायतका जनप्रतिनिधि हिँड्छन् तर बालकन्य प्राविको जिर्ण भवनमा कसैका आँखा परेको छैन ।
अभिभावक बेलायती सेनाका भूतपूर्व सार्जन शम्शेरबहादुर राईको पहलमा २०४० सालदेखि बालकन्य प्राविको नाममा पठन–पाठन सुरु गरिएको थियो । छाप्रोमा पठनपाठन हुँदैआएको विद्यालयलाई २०४४ सालमा जिल्ला शिक्षा कार्यालयमा विधिवत् दर्ता गरिएको हो । २०४४ सालमा अभिभावकले कच्ची भवन बनाउन श्रमदान गर्दा तत्कालीन पञ्चायतले जस्ता हाल्न सहयोग गरेको थियो ।
२०४६ सालमा ब्रिटिस गोर्खा वेलफेयरको सहयोगमा पुरानो भवनसँगै टाँसेर दुई तले कच्ची भवन बनाइयो । त्यसयता सो विद्यालयको कुनै पनि भवन बन्न सकेको छैन । स्थापनाकालकै डेस्क र बेञ्च प्रयोग गर्दैआएको विद्यालयलाई केही समयअघि वडा सदस्य पेमादोर्ची शेर्पाले फर्निचर उपलव्ध गराएपछि केही सहज भएको प्रधानाध्यापक राई बताउँछन् ।
कक्षा ३ सम्म पठनपाठन हुँदैआएको विद्यालयमा हाल २६ छात्र।छात्रा अध्ययनरत छन् । बालविकास केन्द्रमा १२ जना, कक्षा १ मा पाँच जना, कक्षा २ मा चारजना र कक्षा ३ मा पाँचजना विद्यार्थी छन् । उनीहरू साँघुरो र धुलाम्मे कोठामा बसेर अध्ययन गर्न बाध्य छन् । भवन निर्माणका लागि पटकपटक नगरपालिका गुहार्न पुगे पनि सुनुवाइ नभएको वडा सदस्य कृष्णकुमारी पुरी बताउँछिन् । निवर्तमान मेयर दिपनारायण रिजालले कार्यरत शिक्षिका र कर्मचारीलाई शैक्षिक अनुदान उपलव्ध गराउनेबाहेकका सहयोग गरेनन् ।
नवनिर्वाचित मेयर तीर्थराज भट्टराईले गत १३ असारमा विद्यालयको भवनको भौतिक अवस्था, दरबन्दीदेखि राम्रा–नराम्रा पक्षका विषयमा सात दिनभित्र प्रतिवेदन उपलव्ध गराउन पत्राचार गरेका थिए । त्यो पत्र आएपछि अभिभावक र शिक्षक भवन पाउनेमा उत्साहित भएका थिए । भवन पाउने आशामा हौसिएर प्रतिबेदन बुझाए पनि भवनबाट बञ्चित गराइएको अभिभावक बताउँछन् ।