म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरूमा थप करिब २ करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाले सोमबार सम्पन्न १४ औँ गाउँ सभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाका लागि एक करोड ८५ लाख बजेट विनियोजन गरेको हो।
गाउँसभाले बृहत् घोप्टेखोला र बृहत् चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको एक प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको छ । सङ्घीय सरकारमार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगङ्गा गाउँपालिको वडा नम्बर २ भगवती, ३ पिप्ले र ७ चिम खोलालाई समेट्ने बृहत् चिमखोला, पिप्ले भगवती खानेपानी आयोजना र वडा नम्बर ५ झिँ र ६ पाखा पानीलाई समेट्ने बृहत् घोप्टे खोला खानेपानी योजना सम्झौताको लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी वडा नम्बर ५ झिँको वडा कार्यालय भवनको लागि थप २५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । सभाले प्रदेश र सङ्घीय सरकार विशेष र समपूरक योजनासमेत माग गर्ने निर्णय गरेको छ । प्रदेश समपूरक अन्तर्गत पाखापानी–कोटगाउँ– रायखोर–घ्यासीखर्क सडकलाई ५० लाख रुपियाँ , सङ्घीय समपूरक कोष अन्तरगत झिँ वडा कार्यालयलाई थप ३० लाख रुपियाँ, सङ्घीय समपूरक अन्तर्गत मुक्तिधाम मावि प्राविधिक धारको भवन निर्माण गर्न १ करोड ५० लाख रुपियाँ बजेट माग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सङ्घीय विशेष अनुदान अन्तर्गत वडा नम्बर १ बेगको भुइँपाइले फुटबल खेलमैदान, वडा नम्बर २ को बैँसेरी–साझा पानी लिफ्ट सिँचाइ योजना, वडा नम्बर ४ को शिव आधारभूत विद्यालय पुनर्निर्माण, वडा नम्बर ५ को उच्च उचै खेलमैदान, र वडा नम्बर ३ को रघुगङ्गा माविको खेलमैदान निर्माणका लागि बजेट माग गरिएको छ भने प्रदेश विशेष अनुदानमा वडा नम्बर ५ को गौरव आधारभूत विद्यालयको पूर्वाधार निर्माणको योजना माग गर्नुका साथै विभिन्न खोलामा वारपारका लागि झोलुङ्गे पुल माग गर्ने निर्णय गरेको छ ।
सभाले जग्गा वर्गीकरणका लागि स्थानीय जग्गा वर्गीकरण कार्यान्वयन समिति गठन गरी समितिमार्फत नै आवश्यक कार्य अघि बढाउने निर्णय गरेको छ ।