बागलुङ। बागलुङमा गत आर्थिक वर्षमा १० वटा झोलुंगे पुल निर्माण भएका छन्। गत आर्थिक वर्ष २०७८ ७९ मा ढोरपाटन नगरपालिकामा ३, बरेङ गाउँपालिकामा २ र ताराखोला गाउँपालिकामा ५ गरी १० वटा पुल निर्माण भएको हो।
गत वर्ष निर्माण सम्पन्न गर्ने गरी जम्मा ३३ वटा झोलुंगे पुलको सर्भे गरिएकोमा १० वटा पुलको काम पूरा भएको हो। बाँकी २३ वटा पुल निर्माणाधिन अवस्थामा रहेको छ।
ढोरपाटन नगरपालिका–२ सिमलचौर घाट, ढोरपाटन नगरपालिका–७ का पँधेरी घाट र ढोरपाटन नगरपालिका–९ को रासीबाङ्ग घाट, बरेङ गाउँपालिका–२ को काउलाघाट, बरेङ गाउँपालिका–१ को दोभानखोला घाट , ताराखोला गाँउपालिका – २ को दोभानघाट , ताराखोला–३ को निस्दीखोला घाट, ताराखोला–३ को सादीघाट, ताराखोला–४ को दोगाडी घाट र ताराखोला–५ को मैन पकाउने घाट खोलामा पुल निर्माण गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्छ। नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौता अनुसार पुल निर्माण गर्न बागलुङमा झोलुङ्गे पुल सहयोग एकाई (टिविएसयु) र पिटिएपि पोखराले प्राविधिक सहयोग गर्दै आएको छ।
टिविएसयुले पुलको लठ्ठा, फलामै सामग्रीको व्यवस्थापन र वितरणमा स्थानीय तहसँग समन्वय गरेर काम गर्छ । १२० मिटरसम्मका पुल उपभोक्ता समिति र त्यसभन्दा लामा पुल निर्माण व्यवसायीमार्फत् बनाउने गर्छ ।
जिल्लामा पुल रणनीति २०६२ अनुसार पुल निर्माणको काम भइरहेको छ । विस २०७६ भदौसम्म जिल्लाभर ४५३ वटा पुल छन । चालु आर्थिक बर्षमा २५ वटा पुल निर्माण गरिने छ । सबै पुलको गत वर्ष सर्भे गरिएको थियो ।