काठमाडौं। जुम्लाको सिंजा गाउँपालिका–३ स्थित हिमा नदीमाथि निर्माण भएको पक्की पुल गाडी गुड्न नपाएपछि स्थानीयवासी समस्यामा परेका छन् । गत असोजमा बाढीले भत्काएको पुल मर्मत भएर सञ्चालनमा नआउँदा सिंजावासीले सास्ती खेप्नुपरेको हो । गत असोज १९ देखि २५ गतेसम्म आएको वर्षापछि आएको बाढीपहिरोले गाडी गुड्न तयारी अवस्थामा रहेको पक्की पुल भत्किएको थियो ।
सञ्चालनको अन्तिम तयारीमा रहेको उक्त पुल बाढीले क्षतविक्षत बनाएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, “दुर्गम गाउँलाई सडकमा जोड्ने लक्ष्य हो । तर बाढीले पुल भत्किएपछि न मर्मत गरेर सञ्चालन गर्न सम्भव छ, न त भत्काएर नयाँ पुल बनाउन सकिने स्थिति छ । सरकारको लगानी बाढीसँगै बग्यो ।” पुल भत्किएपछि दैनिक सवारी आवतजावत ठप्प भएको छ । झण्डै ५२ लाख लागतमा पुल निर्माण भएको हो ।
गाउँपालिका केन्द्र नराकोटदेखि नाग्म–गमगढी सडक जोड्ने उक्त पुलले सिंजा–२ लाई समेत यातायातसँग जोडेको थियो । दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्न सिंजाले ५२ लाख खर्चिएर निर्माण गरेको पक्की पुलबाट स्थानीयले पूर्ण लाभ लिन नपाउँदै भत्किँदा समस्या भएको सिंजाका स्थानीय रतन तिरुवाले बताए ।
ढुक्कसँग पुलमा मोटर चढेर वारपार गर्ने सिंजालीको सपना पूरा हुन नसकेको सिंजा–२ का पूर्ववडाध्यक्ष नवीन शर्माले बताए । उनले भने, “बाढीले पुल बगाउन सकेन, तर बांगो बनाएको छ । मर्मत गरेर पनि सञ्चालन हुन सक्ने अवस्था छैन । पुल वरिपरिको सबै जमिन कटान गरेर लिँदा पुनः निर्माण प्रभावित भयो ।”
पुल भत्किएपछि स्थानीय घण्टौं लगाएर पैदल यात्रा गर्न बाध्य छन् । बाढीले भत्काएको पुल पूर्ण रुपमा भत्काएर राम्रो पक्की पुल बनाउनुपर्ने स्थानीयको माग छ । “पुल निर्माण हुन्छ वा हुँदैन भन्नेबारे इन्जिनियरसँग बसेर छलफल गर्छौं,” अध्यक्ष धितालले भने, “भत्किएकै पुल पुनःनिर्माण नभए पनि नयाँ पुल निर्माणको तयारीमा छौं । बाढीले बगाएको सडक पुनः निर्माणका लागि ५ करोडको बजेट व्यवस्थापन भइसकेको छ । केही महिनाभित्रै ग्रामीण सडक सचालनमा ल्याउने गरी काम गर्दैछौं ।”
सिंजाका बस्तीलाई सडकमा जोड्न, कृषि उत्पादनलाई बजारमा पुर्याउन र किसानको जीवनस्तर उकास्न सडक र पुल निर्माणबिना सम्भव नभएकोले त्यसतर्फ पालिकाको ध्यान केन्द्रित भएको समेत अध्यक्ष धितालको भनाइ छ । सिंजा गाउँपालिकाले विगतका त्रुटिपूर्ण कामको अन्त्य गर्दै विकास, सेवा प्रवाहलगायत कामलाई चुस्त रुपमा अघि बढाउने प्रयास गरेको बताएको छ । जुम्लाका आठ स्थानीय तहमध्ये पहिलो पालिकाका रुपमा सिंजाले हिउँदे गाउँसभा सम्पन्न गरेको सिंजाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए । कारोबार दैनिकबाट