काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको हो।
यसअघि ५०० देखि १५०० रूपैयाँसम्म जरिवाना लाग्दै आएका विभिन्न शीर्षकमा अब न्यूनतम नै १५ सय जरिवाना बनाइएको छ। २०७५ सालमा प्रत्यायोजित अधिकारको प्रयोग गरी जरिवाना रकम बढाइएको र यो पुष ३ गतेदेखि नै लागू हुने बताइएको छ।
यसरी जरिवाना बढाउँदा ट्राफिक नियमको पालना गरिने र दुर्घटनासमेत न्यूनीकरण हुने ट्राफिक प्रहरीको भनाइ छ। यो नियम लागू भएसँगै एक दुई महिनामा यसबारे केही परिणाम आउने र यसबाट दुर्घटनबारे विश्लेषण गर्न सकिने बताइएको छ।
मंसिर महिनामा मात्रै ट्राफिक प्रहरीले ५ पटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ६२ जनाको लाइसेन्स नै निलम्बन गर्न यातायात विभागलाई सिफारिस गरेको थियो।
४२ पटकसम्म कारबाहीमा परेको रेकर्ड पाइएकाले पनि जरिवाना बढाएको ट्राफिक कार्यालयको भनाइ छ।
न्यूनतम १५०० रूपैयाँ हुने १६ कसूरहरू यसप्रकार छन्
१. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा
२. सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा
३. सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेमा
४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा
५. एकतर्फी सडकमा सो विपरीत सवारी चलाएमा
६. अवस्था ठिक नभएको सवारी चलाएमा
७. राति बत्ती नबाली सवारी चलाएमा
८. सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा
९. नम्बर प्लेट नराखी सवारी चलाएमा
१०. सिटबेल्ट नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा
११. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा
१२. लापरवाहीका साथ सवारी चलाएमा
१३. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा
१४. लाइसेन्स, ब्लुबुक, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा
१५. ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा
१६. हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न बजाएमा