सर्लाही। हुलाकी सडकअन्तर्गत विभिन्न स्थानमा आन्दोलन र दबाबपछि स्थानीय प्रशासनले काम गराउन पहल थालेको छ । प्रशासनले साइट क्लियर गराउन प्रहरी परिचालन तथा ठेकेदारलाई समेत दबाब बढाएको हो ।
समयमा हुलाकी सडकको काम सम्पन्न हुन नसकेपछि स्थानीयको आन्दोलनका कारण प्रशासनमाथि दबाव परेको थियो । गत साता मात्र प्रशासनले सर्वपक्षीय बैठक डाकेर अतिक्रमण खाली गराउने तथा ठेकेदारलाई समयमै काम गर्न लगाउने निर्णय गराएको थियो । हुलाकी सडक बनाउन कसैले बाधा अवरोध गर्न नपाउने भनेर निर्णयमा उल्लेख छ । बाधा उत्पन्न गरेमा कार्वाही हुने समेत जनाइएको छ ।
हुलाकी सडकको मापदण्डभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन स्थानीयलाई पटक–पटक सूचना प्रकाशन गर्दा पनि बेवास्ता भएपछि बल प्रयोग गरेर भए पनि खाली गराउन थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हुलाकी सडकमा अतिक्रमण खाली गर्ने जिम्मा पालिकालाई दिइएको थियो । तर पालिकाले नसकेको स्थानमा प्रहरी लगाएर भए पनि साइट क्लियरको काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताए ।
हुलाकी सडकअन्तर्गत पर्सा गाउँपालिकामा सर्वाधिक विवाद रहेको थियो । पालिका तथा वडाले सडक खाली गर्नका लागि पटक–पटक सूचना निकाले पनि स्थानीयले अटेरी गरेर बसेको बेलामा प्रहरी लगाएर खाली गराउनुपरेको गाउँपालिकाले जनाएको छ । पर्सा गाउँपालिका–६ का वडाध्यक्ष गणेश साहले शनिबार र आइतबार दुई दिनमा सडकको साइट क्लियर गरिएको जानकारी दिए । ‘धेरै पटक सूचना निकाल्यौं, तर स्थानीय अटेरी गरेर बसे,’ वडाध्यक्ष साहले भने, ‘जिल्लाको निर्णयअनुसार हामीलाई पनि दबाब पर्यो, फलस्वरुप प्रहरीको सहयोगमा साइट क्लियर भएको छ ।’
हुलाकी सडकको साइड क्लियरका लागि जिल्लाबाट समेत थप मद्दत टोली पठाउनुपरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सहायक प्रजिअ अधिकारीले पर्सा र सदरमुकाम मलंगवाको टावर चोक आसपासको क्षेत्रमा प्रहरी परिचालन गर्नुपरेको जानकारी दिए । ‘अहिलेसम्म जिल्लाको पर्सा र मलंगवाको टावर चोकमा मात्र प्रहरी परिचालन गर्नुपरेको छ, अन्य स्थानको हुलाकी सडकमा ठेकेदारले काम गरिरहेको अनुगमन हुलाकी सडक आयोजनाले गरिरहेको छ,’ उनले भने, ‘अब कहीं कतै कसैको बहानाबाजी चल्ने छैन, निर्णयअनुसार हामी कठोर बन्नुपरेको छ ।’
राणाकालीन समयमा निर्माण भएको हुलाकी सडकले काँचुली फेर्न नसक्दा यस क्षेत्रका स्थानीय हिउँदमा धूलो र वर्षामा हिलोले सास्ती खेप्न बाध्य छन् । जिल्लाको पूर्वमा संग्रमपुरदेखि पश्चिम बलरासम्मको हुलाकी सडकको अधिकांश भाग अहिले पनि कालोपत्रको पर्खाइमा छ । छिमेकी जिल्ला पूर्वमा महोत्तरी तथा पश्चिममा रौतहटस्थित हुलाकी सडक कालोपत्र भइसक्दा पनि सर्लाहीमा पर्ने झन्डै ४२ किलोमिटर हुलाकी सडकमध्ये अधिकांश भागको अवस्था भने दयनीय नै छ ।
२०७३ सालमा पाँच वर्षभित्र हुलाकी सडक कालोपत्र गर्न भनेर तीन प्याकेजमा ठेक्का लागेको थियो । जसअनुसार हिम्दुङ एन्ड ठोकररहीरा एन्ड नमिता जेभीले १५ किलोमिटर, हिम्दुङ एन्ड ठोकर।साह निर्माण सेवाले पनि १५ किलोमिटर र दिवा निर्माण सेवाले १२ किलोमिटर कालोपत्रको ठेक्का पाएको हो । तीनवटै प्याकेजको ५५ करोडमा ठेक्का पाएको ठेकेदारको समय सीमा समाप्त भइसक्दा पनि सडकको अधिकांश भाग अहिले पनि जीर्ण नै छ । ०७८ मंसिरमा ६–६ महिनाको दुई पटकको म्याद सकेपछि यो तेस्रो पटकका लागि म्याद थप गरेर काम अघि बढिरहेको हुलाकी सडक आयोजनाले जनाएको छ ।
हुलाकी सडक आयोजना प्रमुख कृष्णकुमार महतोले आगामी चैत्रभित्र सर्लाहीको हुलाकी सडक कालोपत्र हुने जानकारी दिए । उनले अहिले साइट क्लियर गरेर सडकको बेस बनाई माघ १५ देखि कालोपत्र गर्ने बताए । ‘अहिले साइट क्लियरको काम अघि बढिरहेको छ, ठेकेदारलाई पनि हामी निगरानी गरिरहेका छौं,’ आयोजना प्रमुख महतोले भने, ‘चिसो भएकाले अहिले कालोपत्र गर्न मिल्दैन, त्यसैले साइट क्लियर र बेस बनाउने काम अघि बढाएका छौं, माघदेखि थालेर चैतभित्र कालोपत्र सक्ने योजना छ ।’ कान्तिपुरबाट