म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजनाको निर्माण आधा सकिएको छ। उक्त आयोजनाको पचास प्रतिशत निर्माण सम्पन्न भएको हो।
एक वर्ष अघि निर्माण सुरु गरेको आयोजनाले अगामी असार मसान्त सम्म निर्माण सक्ने लक्ष्य राखेको छ। हिम कन्सल्ट प्रा.लिले प्रवर्द्धक रहेको आयोजनामा बाँध स्थल,पाइपलाइन र विद्युतगृहको निर्माण एकसाथ अगाडि बढाइएको छ । आयोजना स्थलमा पर्याप्त मात्रामा उपकारणका साथै मजदुर र कर्मचारी गरी एक सय ६० जना जनशक्ति परिचालन गरिएको छ ।
अन्नपूर्ण हिमालबाट बगेर आउने रेल खोलालाई तिन हजार ६ सय मिटर लामो पेन स्टक पाइपबाट ल्याएर पाँच सय ५ मिटरको हेडबाट हरिस्वारामा रहेको विद्युत गृहमा पानी खसालेर विद्युत् निकाल्ने योजना छ ।
सिभिलको ठेक्का पाएको साकुरा पावर कन्स्ट्रक्सन कम्पनीले आयोजनाको बाँध, पाइ पलाइन र विद्युत गृहको संरचना करिब ५० प्रतिशत निर्माण सम्पन्न गरेको आयोजनाले जनाएको छ।
कालो खोलामा रहेको बाँध स्थलमा हेडवक्र्स, इन्टेक,पानी थिङ्ग्राउने(डिसेन्डर) गरी ५०प्रतिशत निर्माण सम्पन्न भएको छ । आयोजनाले हरिस्वारामा विद्युतगृह निर्माण सुरु गरेको बताएको छ।
नारच्याङको बेसी देखि लेक गाउँ हुँदै आयोजना स्थलमा पहुँच मार्ग पुर्याउन आयोजनालाई करिब ४ वर्ष लागेको हो। अत्यन्तै कठिन पहरा फुटालेर पहुँच मार्ग निर्माण गर्दा समय लागेको आयोजनाले जनाएको छ।
आयोजना निर्माणका लागि करिब १८ किलोमिटर सडक निर्माण गरिएको छ। ‘लामो पहुँच मार्ग बनाउनुपर्ने,चिसो मौसम र बर्खाका समय बाढी पहिरोका कारण सडक अवरुद्ध हुने जस्ता समस्याहरू हुँदा पनि आयोजना निर्माणलाई गति दिएको आयोजनाको भनाइ छ। आयोजना सम्पन्न गर्न प्रतिमेगावाट २० करोड रुपियाँ लागत अनुमान गरिएको छ ।