पर्सा। तालिकाअनुसार पानी आउन समय लाग्ने भएपछि किसानको सिंचाइको माग धान्न तिलाबे ब्यारेजबाट पानी झारिएको छ । कतिपय किसानको गहुँ बालीलाई सिंचाइ आवश्यक भइसकेकाले नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले तिलाबे ब्यारेजबाट मूल नहरमा पानी झारेर वैकल्पिक व्यवस्था गरेको हो ।
कार्यालयका इन्जिनियर सुरेशकुमार साहले हाल तिलाबे ब्यारेजबाट गण्डक नहरमा करिब ३ सय ५० क्युसेक पानी झारिएको र उक्त पानीले नहरको ५ देखि ८ ब्लकसम्मका किसान लाभान्वित भइरहेको बताए । ‘ब्लक ५ र ६ का किसानले नहरबाटै सोझै पानी पाएका छन्,’ उनले भने, ‘७ र ८ ब्लकका किसानले नहरमा पम्पिङ्ग सेटको पाइप हालेर पानी तानेर गहु बालीमा सिंचाइ गर्न पाएका छन् ।’ सामान्यतया गहुँ बालीमा एक पटक सिंचाइ गर्दा पर्याप्त हुने भएकाले ४ वटै ब्लकका किसानलाई धेरै राहत भएको उनले दाबी गरे । तिलाबे ब्यारेज वीरगन्जबाट करिब ८ किमि पश्चिममा रहेको छ । त्यहाँ तिलाबे खोलामा ब्यारेज निर्माण गरिएको छ ।
यस बाहेक भारतसँगको गण्डक सम्झौताअनुसारको पानी नहरमा छिट्टै नै आउने सम्भावना रहेको पनि इन्जिनियर साहले दाबी गरे । ‘हामीले भारतीय पक्षलाई यस सम्बन्धमा पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘जनवरी १ देखि भारतीय पक्षले नेपालतर्फ नहरमा पानी छाड्ने प्रतिबद्धता जनाएकाले हामी प्रतीक्षामा छौं ।’
भारतसँगको गण्डक सम्झौताअनुसार भारतले धान र गहु बालीका लागि वर्षमा २ सिजन नहरमा ८ सय ५० क्युसेक पानी दिनुपर्छ । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छाड्ने गर्छ । भारतमै ९२ किमि यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाई नेपालतर्फ ८१ किमि रहेको छ ।
सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीनवटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिंचित गर्ने लक्ष्य भए पनि बर्सेनि कुनै न कुनै समस्या आएर भारतले सम्झौताअनुरुपको ८ सय ५० क्युसेक पानी नेपाललाई दिँदैन ।
गण्डक ब्यारेजको निर्माण भारतले आफैँ गरेको र सञ्चालन पनि भारतीय पक्ष आफैँले गर्छ । उसले ब्यारेजबाट नेपालभन्दा भारतीय भूमिमा बढी पानी लगेको छ । नेपालतर्फ पर्सा र बाराका किसानले मात्र पानी पाउँछन् । रौतहटसम्म पानी पुग्दैन । कान्तिपुरबाट