कैलाली कैलालीको कैलारी गाउँपालिका–७ विपतपुर मुक्तकमैया शिविरस्थित अग्नीपीडित मुक्त कमैयाहरुको घर निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकार, ह्याबिटेड फर ह्युमानिटीको आर्थिक तथा ह्याबिटेडको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र स्थानीयको श्रमसहितको सझेदारीमा निर्माण सुरु गरिएको हाे ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तरगत घर निर्माण हुन लागेको हो । एक कार्यक्रमका बीच प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले घरको शिलान्यास गरेकी छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको बस्ती विकास कार्यक्रमले विपन्न मुक्तकमैया परिवारलाई राहत हुनेमा विश्वास व्यक्त गरिन । सुरक्षित आवासभित्र प्रवेश गरेको दिन सरकारको कार्यक्रमले सार्थकता पाउने भएकोले सबै पक्ष कार्यक्रम सफल पार्नमा लाग्नुपर्ने मन्त्री चौधरीको भनाइ छ ।
कार्यक्रममार्फत स्थानीयले तोकिएको मापदण्ड अनुसार आफ्नो घर आफै बनाउने भएकाले लाभग्राहीलाई घर निर्माण अवधिसम्म रोजगारी पनि सिर्जना हुने बताइएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद विरमान चौधरीले भने, ‘तपाईहरुको आफ्नो घर मात्रै बन्दै छैन, तपाईहरु आफै मिस्त्री हो । श्रमिक हो । घर आफै बनाउँदै हुनुहुन्छ । जसबाट निर्माण अवधिसम्म कामको लागि कहीँ जानु परेन । पछि पनि सीप रहिरहने छ । जुनकारण घरको संरचनाको गुणस्तरसँग सम्झौता नगर्नुहोला ।’
मन्त्रालयका सचिव डा. मदनसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा ह्याबिटेडकी परियोजना प्रबन्धक पुनिता चौधरी, वडा नं. ७ का अध्यक्ष दीपेन्द्र बम, निवर्तमान वडाध्यक्ष कमल चौधरी, शिविरका भलमन्सा हिंगुराम चौधरीलगायतको उपस्थिति रहेको थियो ।
२०७९ बैशाख गते सो मुक्तकमैया बस्तीमा आगलागी भएको थियो । बस्तीको २७ घर पूर्णरुपमा जलेर नष्ट भएको थियो भने दर्जनौं घरमा आंशिक क्षति पुगेको थियो । कार्यक्रम अन्तरगत भन्सासहित ३ कोठा र शौचालयसहितको २७ घर निर्माण गर्न लागिएको हो ।
जसमा प्रदेश सरकारको ९० लाख, ह्याबिटेड फर ह्युमनिटीको ५४ लाख र लाभग्राहीको ४१ लाख ९९ हजार ९९६ रुपैयाँ बराबरको लगानी रहने ह्याबिटेड फर ह्युमानिटीका इन्जिनीयर अनुपराज जोशीले जानकारी दिए । घर २०८० जेठ मसान्तभित्र बनाइसक्नुपर्ने छ ।