काठमाडौं। पर्वतको फलेवास नगरपालिकाभित्रको २३ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ। नगरका विभिन्न वडा कार्यालयको केन्द्र जोड्ने सडक कालोपत्रे गरिने भएको हो।
नगरभित्रका वडा नम्बर २, ६, ७, ८ र ९ को कार्यालय जोड्ने सडक कालोपत्रे हुने भएको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए । वडा नम्बर ६ देविस्थानको ओख्ले हुँदै लमाय–लिमिठाना, ठानामौला–बेतेनी–थापाठाना सडक कालोपत्रेको प्रकृयामा अघि बढेको छ। नगरका पाँचवटा वडा कार्यालयको मुकाम जोड्ने मुख्य सडक सञ्जालमा समेटिएको उक्त सडकको लम्बाइ २३ किलोमिटर छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)ले उक्त सडकको कालोपत्रे प्रकृया अघि बढाएको हो । आयोजनाले उक्त सडकको कालोपत्रेका लागि वातावरणीय प्रभाव मूल्यांकन तथा समुदाय सहभागी योजनाको अध्ययन सुरु गरेको छ ।
आरसीआईपीले उक्त सडकको (ईआईए र सिपीपी) का लागि सिभिल इन्फर्मेटिभ सोलुसनलाई जिम्मा दिइसकिएको र उक्त सडक चालू वर्षभित्रै ठेक्का प्रकृयामा जाने जानकारी दिएको छ । आरसिआईपीले जिम्मा दिएको सिभिल इन्फर्मेटिभ सोलुसनका इन्जिनियर सञ्जिव श्रेष्ठ र विष्णु गौतमलगायतको टोलीले बुधबारदेखि सडकको स्थलगत अवस्थाको वास्तविक अध्ययन सुरु गरको छ ।
प्राविधिकको टोलीले देविस्थानदेखि लिमिठाना, ठानामौला, भंगरा हुँदै थापाठानासम्मको सडक छेउमा पर्ने मापदण्ड, भौतिक संरचना, बस्तीलगायतको अवस्थाबारे अध्ययन गरेको छ । नगरप्रमुख तिवारीले आफूले निर्वाचनका बेला गरेका बाचा पूरा गर्ने अभियानअन्तर्गत यो सडक कालोपत्रेका लागि निरन्तर खटिएका कारण छोटो समयमा नतिजा हासिल गर्न सफल भएको दाबी गरे ।
आरसीआईपीका आयोजना प्रमुख कमल अधिकारीका अनुसार उक्त सडक चालू वर्षभित्रै टेण्डर प्रकृयामा गएर आगामी ३ वर्षभित्रै कालोपत्रे सम्पन्न हुने भएको छ । फलेवासमा यसअघि वडा नं. १ कार्किनेटा, वडा नं ५ खानीगाउँ, वडा नं. ६ देविस्थान र वडा नं. १० कुर्घामा भने कालोपत्रे सडकको पहुँच पुगिसकेको छ । कारोबार दैनिकबाट