पाँचथर। पाँचथरको सदरमुकाम फिदिमसँग सिधा सम्पर्कमा जोडिने चारवटा ग्रामीण सडक कालोपत्रे गर्ने चरणमा रहेका छन्। यही आर्थिक वर्षमा कालोपत्रेको काम सक्ने लक्ष्यका साथ काम अघि बढिरहेको हो।
सखरखण्डे–यासोक, शिवा दोभान–लुम्फाबुङ–नवमीडाँडा, फिदिम–फालोट र शनिबारे–लुङ्रुपमा–गोरुवाले सडक कालोपत्रे गर्न लागिएको हो।
यी सडकको कालोपत्रेका लागि आवश्यक नाली, वाल, कलभर्ट, ग्राभेल लगायतका पूर्वाधार निर्माण पूरा गरिएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ।
४६ करोड ४८ लाख रुपैंयाँ लागतमा फिदिम फालोटको फिदिम–नागिन खण्डको १० दशमलव ११२ किलोमिटर कालोपत्रे हुन लागेको हो। शनिबारे–लुङ्रुपमा–गोरुवाले अन्तर्गतको २६ करोड ४५ लाख ५० हजार लागतमा फिदिमदेखि साढे ७ किलो मिटर कालोपत्रे गर्न लागिएको हो। उल्लेखित दुई सडकको कालोपत्रे गरिने खण्डमा अहिले प्राइम बिछ्याउन थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
कुल लागत ४७ करोड ७ लाख रुपैंयाँमा ११ दशमलव ३१ किलोमिटर सखरखण्डे–यासोक कालोपत्रे गर्न लागिएको हो। त्यसैगरी शिवा दोभान–लुम्फाबुङ–नवमीडाँडाको १३ दशमलव ९२ किलोमिटर सडक ५९ करोड ३६ लाख रुपियाँमा लागतमा कालोपत्रे बिछ्याउने चरणमा छ।
सखरखण्डे–यासोक र शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सकड असार मसान्तसम्ममा कालोपत्रे भइसक्ने बताइएको छ। कालोपत्रे गर्ने चरणमा रहेका चार वटा सडक प्रदेश सरकारको आर्थिक सहयोगमा २०७६ पुस फागुनमा विभिन्न निर्माण कम्पनीसँग दुई वर्षमा सक्ने गरी काम गर्ने सम्झौता भएको थियो। कोरोना प्रकोपले दुई वर्ष प्रभावित पार्दा कालोपत्रे योजना निर्धारित समयमै सम्पन्न हुन सकेको थिएन।