काठमाडौं। २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको मुख्य संरचना निर्माणको काम अर्को महिना देखि सुरु हुने भएको छ। विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त कर्पोरेशन आइएफसी सहित ९ अन्तर्राष्ट्रिय बैंकको ऋण लगानीमा आयोजनाको निर्माण हुँदैछ।
यस आयोजना निर्माणको लागि ९ वटा संस्थाले २०७६ कात्तिकमै ५० अर्ब रुपैयाँ बढी ऋण लगानी गर्ने सम्झौता गरेका थिए। तर कोभिड–१९ का कारण प्रभावित भएको माथिल्लो त्रिशूलीमा यतिबेला भने ठेकेदार कम्पनीहरु परिचालन भइसकेका छन्।
हाल आवास गृह निर्माण सहित अडिट टनेल निर्माणको काम भइरहेको र नोभेम्बर अन्तिमबाट आयोजनाको मुख्य सुरुङमार्गको काम सुरु हुने आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका महाप्रबन्धकले जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय निकायले कबोल गरेको रकम पनि डिसेम्बर भित्र प्राप्त हुने र आयोजना निर्माण सुरु गरेको मितिले ५ वर्षमा सक्ने लक्ष्य भएपनि त्यो भन्दा अगावै सक्ने गरि काम गर्ने उनले बताएका छन्।
त्यस्तै यस आयोजनामा आईएफसीले १६ करोड १३ लाख, एसियाली विकास बैंक एडिबीले ६ करोड, एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीले ३ करोड ९६ लाख, कोरियाली निर्यात–आयात बैंक केएक्जिमले १० करोड, कोरिया डेभलपमेन्ट बैंक केडिबीले ३ करोड ८ लाख डलर आयोजनामा ऋण लगानी गर्ने भएका छन्। सिडीसी ग्रुप पिएलसी सिडीसीको २ करोड १९ लाख, नेदरल्याण्ड डेभलपमेन्ट फाइनान्स कम्पनी एफएमओको १ करोड ५४ लाख, फ्रेन्च डेभलमेन्ट फाइनान्सियल इन्ष्टिच्यूसन प्रोपारको १ करोड १० लाख र अन्तराष्ट्रिय विकासका लागि ओपेक फण्डको ओएफआईडी १ करोड ३२ लाख डलर यस आयोजना निर्माणमा ऋण लगानी रहने छ।
आयोजनाको लगानी ७० प्रतिशत ऋण र ३० प्रतिशत ईक्विटीबाट जुटाइएको छ। कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर निर्माण अवधिको व्याजसमेत गरी रहेको छ। यस्तै प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ जलविद्युत् आयोजना हालसम्मकै ठूलो आयोजना हो। यस आयोजना निर्माण भएपछि वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने छ। आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८/७५ प्रतिशत हिउँदयाममा र ६१/२५ प्रतिशत वर्षायामा उत्पादन हुनेछ। उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ।
यस आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको १४ वर्षदेखि २६ वर्षसम्मको अवधिमा नेपालले ३ अर्ब २६ करोड ५४ लाख युनिट विद्युत ऊर्जा निःशुल्क पाउने भएको छ। उक्त कम्पनीका अनुसार विश्वप्रख्यात कम्पनीहरु डेलिम इन्ड्रस्ट्रियल कम्पनी लिमिटेड र क्येर्योङ कन्ट्रक्सन इन्ड्रस्ट्रियल कम्पनी लिमिटेडको संयुक्त उपक्रमले इन्जिनियरिङ, खरिद र निर्माण इपीसी मोडेलमा सो आयोजनाको निर्माण गर्ने छ। सिभिल तर्फको कामका लागि पावर चाइनासँग सम्झौता गरिएको छ भने, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल कामको एन्ड्रिज हाइड्रोलाई जिम्मा दिइएको छ।