उदयपुर। सञ्चालनको तयारी हुँदै गर्दा भत्किएको त्रियुगा नदीको पक्की पुल डेढ वर्ष बित्दा पनि अझै बनाउने तरखर गरिएको छैन । जुन पुल दशक बढी समय लगाएर चौदण्डीगढी नगरपालिका–५ सिवाइमा निर्माणाधीन थियो ।
तत्काल बनाउन यसका लागि अध्ययन, अनुसन्धान र रि–डिजाइनसम्मका काम भयो । तर आगामी वर्षामा समेत सर्वसाधारणले नदी तर्न डुंगाकै भर पर्नुपर्ने देखिएको छ ।
झन्डै ११ वर्ष लगाएर निर्मित पक्की पुलको बाढीले दुई स्पान नै बगाएको थियो । चौदण्डीगढी नगरपालिका–५ वडाध्यक्ष तुलसी ढकालले पुनर्निर्माण अझै अन्योल रहेको बताए । पुल नहुँदा चौदण्डीगढी नगरपालिका ५, ९ र १० का स्थानीय मनसुनमा सास्ती खेप्नुपर्ने हुन्छ । नगरपालिकाको केन्द्र बेल्टार बजारसम्म पुग्न यी वडाका सर्वसाधारण डुंगाको विकल्पमा सप्तरीको फत्तेपुर वा सदरमुकाम गाईघाट हुँदै आउनेजाने गर्नुपर्ने बाध्यता छ ।
नदीको सिवाइघाटमा २०६७ यता पक्की पुल निर्माण सुरु गरिएको हो । २०७८ असार १९ मा आएको बाढीले पुल कामै नलाग्ने गरी क्षतिग्रस्त भएको हो । आवागमनका लागि हिउँदमा वर्षौंदेखि नदीमा अस्थायी पुल बनाएर सञ्चालन गरिँदै आएको छ । त्रियुगा उदयपुरको सबैभन्दा ठूलो नदी हो । पुल नहुँदा उदयपुरको मुख्य व्यापारी केन्द्रमध्येको बेल्टार बजार ओझेलमा छ । उक्त बजारसँग जोडिएको दक्षिण खोटाङका चिसापानी, सिमपानी र खोटाङ बजारलाई समेत असर परेको छ । उक्त पुल निर्माणसँगै यी बजारहरू छोटो दूरीमा तराईसँग जोडिँदै पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर राष्ट्रिय सडक सञ्जालमा जोडिन्छन् ।
पुल भत्किएपछि सडक विभागले अनुगमन गरेर थापाथली इन्जिनियर कलेजलाई अध्ययन गरी प्रतिवेदन दिन जिम्मा दिएको थियो । तर प्रतिवेदनका आधारमा पुनर्निर्माण गर्न नसकिने भएपछि अर्को समूहलाई रि–डिजाइनको जिम्मा दिइएको विभागले जनाएको छ । लगत इस्टिमेटको काम भइरहेको फुल अनुगमन गर्न आएका गाईघाट दित्तेल सडक योजना कार्यालय गाईघाटका प्रमुख गोपालप्रसाद खकुरेलले बताए । ‘चाँडै काम सुरु हुन्छ,’ उनले भने ।
महालक्ष्मी।लोकप्रिय जेभी कन्स्ट्रक्सनका केदार तिमल्सिनाका अनुसार विभागले केही नभनेकाले मर्मत वा पुनर्निर्माणको विषयमा अन्योल छ ।’ भत्किएको पुलमा करिब ११ करोड २७ लाख रुपैयाँ खर्च भएको छ । उक्त कन्स्ट्रक्सन कम्पनीले गरेको ढिलाइका कारण सडक विभागमा करिब १ करोड जरिवानासमेत तिरेको थियो । कान्तिपुरबाट