काठमाडौं। ‘एक घर, एक धारा’को लक्ष्यसहित सञ्चालित विभिन्न खानेपानी आयोजनाको मर्मतसम्भार गर्न थालेपछि कालीकोटका दुर्गम गाउँमा खानेपानीको पहुँच वृद्धि हुँदै गएको छ।
घण्टौँ हिँडेर खानेपानी ल्याउनुपर्ने कालीकोटका विकट बस्तीमा अहिले घरघरमा धारा जडान हुन थालेको हो। जिल्लाको खाँडाचक्र, रास्कोट र तलागुफा नगरपालिका तथा पचालझरना, पलाँता, नरहरिनाथ र शुभकालिका गाउँपालिकाले त्यहाँको नागरिकको घरघरमा धारा जडान गर्न थालेका छन्।
स्थानीय उपभोक्ताले खानेपानीको मुहान तथा धाराको संरक्षण नगर्दा विगतमा खानेपानीको चर्को अभाव हुने गरेको थियो। अहिले कालीकोटका स्थानीय तहले खानेपानीका धारा विस्तारसँगै दुर्गम गाउँमा खानेपानीको पहुँच वृद्धि गरेको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए।
खाँडाचक्र नगरपालिकाको पाखा, पिली, बिहानी, बरातु, मेग्रलगायत बस्तीमा ५०० भन्दाबढी खानेपानीको धारा जडान गरिएको खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए। सबै नागरिकलाई सुरक्षित खानेपानी पुर्याउने लक्ष्यका साथ धारा जडान गर्ने कार्य भइरहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका सूचना अधिकारी देवानन्द धितालले बताए।
यसैगरी सुक्खाग्रस्त पलाता गाउँपालिकाले थिर्पु, धौलागोह र खिनमा ५० प्रतिशतभन्दा बढी घरधुरीमा धारा जडान गरिसकेको छ। यो गाउँपालिकाका सबै वडामा खानेपानी पुर्याउन सर्भे डिजाइन र मूलट्याङ्की निर्माण गरिसकेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए।
यस्तै रास्कोट नगरपालिकाको फुकोट, स्युना र सिप्खाना गाउँमा करिब एक हजार १०० घरमा धारा जडान गरिएको नगर प्रमुख काशीचन्द्र बरालले जानकारी दिए। तिलागुफा नगरपालिकाको राँचुली र चिल्खायामा पनि घरघरमा धारा सञ्चालनमा आएको नगर प्रमुख रतनबहादुर शाहीले बताए। पछिल्लो समय तीव्र शहरीकरण र सडक, पुलपुलेसा निर्माणका कारण खानेपानीका स्रोत विनाश भइरहेका छन्।
अहिले जिल्लाका सबै धरधुरीमा खानेपानीको पहुँच विस्तार गर्ने योजना लागू गरिएको छ। “हाम्रो प्राथमिकता खानेपानीको पहुँच नभएका स्थानमा पहुँच विस्तार गर्ने र विस्तार भएका ठाउँको गुणस्तर वृद्धि गर्नु हो, नयाँनयाँ प्रविधिको प्रयोग गर्दै स्रोतको संरक्षण गर्ने र भएका स्रोत साधनको अधिकतम उपयोग गरी खानेपानीलाई व्यवस्थित गर्न लागिरहेका छौँ”, नगरप्रमुखले भने।
दिगो विकासको लक्ष्यअन्तर्गत सन् २०३० सम्म सबैलाई खानेपानी तथा सरसफाइको उपलब्धता र दिगो व्यवस्थापनको सुनिश्चित गर्ने लक्ष्यलाई नेपाल सरकारले पनि आत्मसाथ गरेको छ। खानेपानी जनताको आधारभूत मानव अधिकारको विषय भएकाले समुदायस्तरमा उपभोक्ता समितिले सञ्चालन गरिरहेका खानेपानी आयोजनालाई दीगो बनाउन सकिए सबै नागरिक खानेपानीको पहुँचमा पुग्ने खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका सूचना अधिकारी धितालले बताए।