धनगढी। बैतडीको तल्लो स्वराड क्षेत्र जोड्ने पाटन नगरपालिकास्थित गोइडा खोलाको पुल ६ वर्षसम्म पूरा हुन सकेको छैन । ६ वर्षअघि ठेक्का लागेको उक्त पुल सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको लापरबाहीका कारण अहिलेसम्म निर्माण हुन नसकेको हो ।
पुल नबन्दा जिल्लाको आधाभन्दा बढी जनसंख्या रहेको तल्लोस्वराड क्षेत्रमा समस्या छ । बैतडीको पाटनदेखि पञ्चेश्वर जोड्ने सडकमा पर्ने गोइडा खोलाको पुल नहुँदा बर्खामा यातायात सञ्चालन गर्न समस्या हुने गरेको छ । खोला बढेका बेला आउजाउ बन्द हुने स्थानीय बताउँछन् । यो खोला पार नगरी स्वराड क्षेत्रका तीन वटा स्थानीय तह र पाटन नगरपालिकाकै आधा क्षेत्रमा प्रवेश गर्न सकिँदैन । सरोकारवाला निकायको मिलेमतोमा पुल निर्माणमा ढिलाइ भएको स्थानीयको आरोप छ । ‘सरकारी कर्मचारी र ठेकेदार कम्पनी मिलेर कसरी अनियमितता हुन्छ भनेर उदाहरण दिँंदा वैतडीमा गोइडा खोला पुललाई लिने गरिएको छ,’ मेलौलीका स्थानीय अगुवा धर्मसिंह ठगुन्नाले बताए ।
०४२ सालमा सुरु भएको पाटन–पञ्चेश्वर सडक ढिलो गरी बनेको हो । यसअघि एक दशकसम्म लामालेकको उकालोमा पुगेर अड्किएको सडक निर्माणले ०७० पछि गति पाएको थियो । गतवर्ष नै पञ्चेश्वरसम्म सवारीसाधन सञ्चालनमा आइसकेका छन् । पाटनदेखि मेलौलीसम्म कालोपत्रे पनि भइसकेको छ । कालोपत्र सडकको बीचमा पर्ने एउटा पुल निर्माण नसकिँदा बर्खामा सिंगो स्वराड क्षेत्रको यातायात सेवा प्रभावित हुँदै आएको छ । पुल निर्माणको जिम्मा पाएको एस के निर्माण सेवाले स्थानीयको अवरोध र कोरोनाका कारण काम ढिलाइ भएको बताउने गरेको छ । पुल निर्माणमा लापरबाही भएको स्थानीयको आरोप छ । निर्माण कम्पनीले पुरानै दररेटमा काम गर्न नसकिने अवस्था रहेको जनाएको छ । सडक डिभिजन कार्यालय पाटन र निर्माण कम्पनीले समयमा ध्यान पुर्याउन नसक्दा अहिलेसम्म पनि काम अगाडि बढ्न नसकेको स्थानीयको भनाइ छ ।
६ वर्षअघि २ करोड ३८ लाखमा ठेक्का लागेको पुल निर्माणको कुल बजेटमध्ये १ करोड ३४ लाख निर्माण कम्पनीले भुक्तानी लिइसकेको छ । तर पुलको काम भने आधा पनि भएको छैन । सडक डिभिजन कार्यालयले ५६ प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरेको छ । पुल निर्माणको आधार मात्र तयार भएको स्थानीयको दाबी छ ।
२०७४ देखि अहिलेसम्म स्थानीयले नहर भएको विवाद गरेका कारण पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालयका सूचना अधिकृत राहुलराज पाण्डेय बताउँछन् । उनले भने, ‘पुल निर्माण हुने स्थानमा कुनै समय नहर (कुलो) भएकाले स्थानीयले गरेको विवादले गर्दा समयमा काम हुन नसकेको हो ।’ पुल निर्माण हुन नसक्दा तल्लो स्वराड क्षेत्रका मेलौली, पञ्चेश्वर, शिवनाथलगायत महाकाली छेउका धेरैजसो ठाउँमा यातायातका साधन सहज रूपमा सञ्चालन हुन सकेका छैनन् । पुल नहुँदा वर्षात्का ४ महिना यस क्षेत्रका बासिन्दाले निकै सास्ती भोग्नुपरेको छ ।
बैतडीको पाटनदेखि मेलौली हुँदै शिवनाथ र पञ्चेश्वरसम्म जोड्ने राजमार्गको सलेना सडक खण्डमा पर्ने यो पुल सञ्चालनमा आए जिल्लाको दुर्गम मानिने तल्लो स्वराड क्षेत्रमा १२ महिना नै यातायात सहज रूपमा सञ्चालन हुन्छ । स्थानीय जनप्रतिनिधिहरूले पनि पटक पटक पुल निर्माणको विषयलाई लिएर डिभिजन सडक कार्यालयलाई ताकेता गर्दै आए पनि कार्यालयले चासो नराखेको उनीहरूको गुनासो छ । कान्तिपुरबाट