काठमाडौं। अहिलेको अवस्थामा सडक सुरक्षा एक विश्वव्यापी मुद्दा बन्न पुगेको छ। सडकमा सवारी दुर्घटनाबाट विश्वभर दैनिक हजारौं मानिसको मृत्यु भइरहेको हुन्छ। यस्तो सडक असुरक्षाबाट बच्नका लागि विश्वका प्राविधिक कम्पनीहरुले निरन्तर नयाँ प्रविधि अविष्कारका लागि प्रयत्न पनि गरिरहेका छन्। सयौं कम्पनीहरुले हरेक वर्ष नयाँ प्रविधि र उपायहरु प्रस्तुत पनि गरिरहेका हुन्छन् जसले सडक असुरक्षाबाट मानिसलाई जोगाउँछ।
यसै क्रममा हालै अस्ट्रेलीयाली दुई कम्पनी मिलेर सडक सुरक्षाका लागि नयाँ प्रविधि सार्वजनिक गरेका छन्। Tarmac Linemarking र OmniGrip and Vic Roads कम्पनी मिलेर रातिको समयमा गाडी चलाउँदा अँध्यारोका कारण सडककाे किनारा नदेखिने समस्या नहोस भन्ने उद्देश्यले यस्तो प्रविधिको आविष्कार गरेका हुन्।
हाल सडककाे किनारा, डिभाइडर, जेब्रा क्रस लगायत अन्य सडक चिन्हहरू सडक प्रयाेगकर्तालाइ जानकारी दिनका लागि थर्माेप्लास्टिक प्रविधिकाे सेताे, पहेँलाे वा अन्य कुनै रङ प्रयाेग गरिँदै आएकाे छ। थर्माेप्लास्टिक प्रविधिबाट रेखांकन गरिएका चिन्हहरू दिनकाे समयमा देखिए पनि रातमा भने कम देखिने वा नदेखिने पनि हुन सक्छन्। जसले गर्दा रातिमा हुने सवारी दुर्घटनाका लागि यी चिन्ह वा रेखांकनहरू प्रभावकारी छैनन्।
यी कम्पनीहरूले संयुक्त रूपमा राजमार्ग लेनहरूमा पेन्टिङ गर्नका लागि यस्तो पेन्टको विकास गरे, जसले रातिको समयमा प्रकाश फाल्ने गर्छ। यस्तो पेन्टमा दिनभर घामको प्रकाश परेपछि उक्त पेन्टले रातिको समयमा एक किसिमको हरियो प्रकाश फाल्ने गर्छ। यो केटाकेटीका खेलौना तथा विद्धुतीय स्वीचहरू लगायत रातका समयमा प्रयाेग हुने अन्य सुरक्षाका वस्तुहरूमा हुने चम्किलो प्रकाश जस्तै हुन्छ।
रातिको समयमा अँध्यारोका कारण सवारी साधनमा हुने प्रकाशले मात्र सडककाे अवस्था राम्रो जानकारी पाउन सकिँदैन। रातिकाे समयमा सडकका माेडहरू, सडकको पर सम्मको अवस्था, सडककाे किनारा, सडककाे लेन बारेमा ज्ञान हुँदैन। प्राकृतिक रुपमै पनि रातमा मानव दृष्टिले आफ्नो दृष्य क्षमता समेत केही हदसम्म गुमाउन पुग्दछन्। यी विभिन्न कारणले रातिको समयमा धेरै दुर्घटना हुने सम्भावना हुन्छ।
यी अस्ट्रेलियाली कम्पनीहरुले आविष्कार गरेको पेन्टकाे प्रकाशले राति सवारी साधन चलाउने चालकका लागि सजिलाे हुन्छ। यसले सडककाे माेड तथा सडकका किनारा र राजमार्गको धेरै परसम्मको अवस्थाका बारेमा चालकलाई राम्रो जानकारी प्रदान गर्छ। जसले गर्दा सवारी दुर्घटना हुने सम्भावना कम हुन्छ।
यी कम्पनीहरुद्वारा विकसित याे प्रविधि केही मिलिमिटर बाक्लाे हुने र यसकाे आयु करिब १० वर्ष हुने हुँदा ठूला तथा भारी ओजनका सवारी साधनले समेत यसलाइ क्षति पुर्याउन सक्दैन। फलस्वरूप याे पेन्टिङ एक पटक गरेपछि लामाे समयसम्म प्रभावकारी हुन्छ।
यस्तो पेन्टिङलाई सडक राजमार्गहरु बाहेक जेब्रा क्रस, साइकल मार्ग लगायतका स्थानमा पनि प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ। रातिको समयमा सवारी सुरक्षाका लागि यो प्रविधि निकै महत्वपूर्ण हुने मानिएको छ।