पाँचथर। बाढीपहिरोले क्षति पुर्याएको सडक मर्मत नहुँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ लेकगाउँका पहिरो पीडितलाई खाद्यान्न अभाव भएको छ। सो स्थानसम्म पुग्ने दुइवटै सडक क्षतिग्रस्त भएपछि खाद्यान्न ढुवानीमा समस्या हुँदा त्यहाँ भोकमरीको अवस्था सिर्जना हुन लागेको स्थानीयले बताएका छन्। गत कात्तिक १ गतेदेखि ३ गतेसम्मको बेमौसमि वर्षाका कारण बाढी र पहिरो जाँदा मिक्लाजुङ क्षतिग्रस्त बनेको हो।
पहिरो जानुअघि सो ठाउँमा झापाको दमकबाट कन्याटार, छ नम्बर बुधबारे हुँदै आउने बाटो प्रयोग गर्दै खाद्यान्नसहितका उपभोग्य वस्तु ल्याइने गरिएको थियो। यसको विकल्पमा राँके, रबि भेडेटार सडक प्रयोग हुँदैआएकोमा कात्तिक २ गतेदेखि दुवै सडक अवरुद्ध भएका छन्। १ सय २६ घर परिवारका ६ सय ६४ जनसंख्या रहेको लेकगाउँमा पहिरोका कारण २० परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने बाँकी सबैजसो घरमा पहिरोले क्षति पुर्याएको छ। पहिरो पीडितमध्ये पूर्ण विस्थापित २० सहित न्युन आय भएका गरी २६ परिवारमा भोकमरी चल्न थालेको छ भने बाँकी सबै घर परिवारमा पनि खाद्यान्न अभाव हुन थालेको कुरा त्यहाँका स्थानीयले जानकारी दिएका छन्।
त्यस्तै लेकगाउँसम्म पुग्ने सडकसँगै, विद्युत र खानेपानीका संरचना पनि पहिरोले क्षत विक्षत भएकाले लेकगाउँ, खोलाखर्क र भाङटारका बासिन्दालाई थप सकस भएको छ। लेकगाउँका सबै नागरिक प्राकृतिक नाकाबन्दीमा परेपछि गाउँपालिकाले भेडेटार ६ नम्बर बुधबार सडक आयोजनासँग समन्वय गरेर सडक खुलाउन प्रयास गरिरहे पनि तत्काल खुल्ने सम्भावना नरहेको गाउँपालिका अध्यक्षले बताएका छन्।
कन्याटार छ नम्बर बुधबारे खण्डबाट पन्छाउन थालिएको पहिरो छिचोल्दै स्काभेटर लेकगाउँवासीको पहुँचसम्म आइपुग्न कम्तीमा ७ दिन लाग्ने बताइएको छ। बचेखुचेको सबै खानेकुरा सकिएको र सडक खुलुन्जेलसम्म भोकले मरिएला कि भन्ने त्यहाँका १ स्थानीयको गुनासो रहेको छ। त्यस्तै यो बेलामा कोही स्थानीय विरामी परे उपचार गर्ने आधारभूत स्वास्थ्य केन्द्र नजिक छैन, प्राकृतिक नाकाबन्दीको अवस्थामा पुगेको उनको भनाई रहेको छ। गाउँपालिकाका अध्यक्षले पहिरोको चपेटामा परेका स्थानीयलाई संघ र प्रदेश सरकारसँगै सामाजिक संस्थाले पनि वास्ता नगरेको गुनासो गरेका छन्। स्थानीय सरकारको बुताले भ्याएसम्म सहयोग गरिरहेको भएपनि यस्ले पर्याप्त नहुने उनको भनाई रहेको छ।
बाढीपहिरो गएको एक साता बित्नैलाग्दा कात्तिक ७ गते सो स्थानको निरीक्षणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावितलाई राहत दिन कुनै कसर बाँकी नराख्ने आश्वासन दिएर फर्केका थिए। त्यस्तै देउवा फर्केको एक सातापछि आएका गृहमन्त्री बालकृष्ण खाँणले पनि त्यस्तै आश्वासन दोहोर्याए पनि हालसम्म पीडितले एक मुठ्ठी चामलसमेत नपाएको गुनासो गरेका छन्।