काठमाडौं। सुदूरपश्चिम प्रदेश गठन भएको पाँच वर्षमा चार सय किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेश यातायात पूर्वाधार विकास निर्देशनालयले पाँच वर्षमा ४१०.२ किलोमिटर कालोपत्रे सम्पन्न गरी हस्तान्तरण भएको जनाएको छ ।
निर्देशनालयका निर्देशक जगतप्रकाश जोशीले पाँच वर्षको अवधिमा ७६९ किलोमिटर सडक ग्राभेल गरिएको बताएका छन् । उनले एक हजार ३२२ किलोमिटर माटे सडक निर्माण गरिएको बताए । प्रदेश सरकारले २२ वटा सडक पुल र ३१ वटा झोलुंगे पुल निर्माण सम्पन्न गरेको छ । सबै भन्दाबढी लगानी सडक पूर्वाधारमा गरेको प्रदेश सरकारले विगतदेखि बहुवर्षीय ठेक्का लगाएका सडकहरु निर्माण सम्पन्न हुने क्रममा रहेको जनाएको छ ।
निर्देशक जोशीले चालु आर्थिक वर्षको अन्त्यसम्म करिब दुई सय किलो मिटर कालोपत्रे सडक निर्माण सम्पन्न हुने चरणमा रहेको बताए । उनले चिसोमा कालोपत्रे गर्न नमिल्ने भएकाले चैत्र महिना लागेपछि कालोपत्रेको काम शुरु गरिने बताए । उनले बहुवर्षीय ठेक्का र क्रमागत योजनाहरु गरी एक हजार किलोमिटर भन्दाबढी सडक कालोपत्रेका लागि ठेक्कामा रहेको बताए ।
उनले एक वर्षमै सम्पन्न हुने गरी पाँच सय भन्दाबढी योजनाहरु सडक ग्राभेल गर्ने, ट्रयाक खोल्ने र सडक अपग्रेड गर्ने योजनाहरु सञ्चालनमा रहेको बताए । पाँच आर्थिक वर्षका लागि पूर्ण बजेट ल्याएको प्रदेश सरकारले यो अवधिमा २० अर्ब ७७ करोड ०९ लाख ६२ हजार रुपैयाँ सडक र पुल निर्माणका लागि विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म क्रमशः चार अर्ब ३० करोड ८३ लाख एक हजार, तीन अर्ब ३६ करोड ४२ लाख ३७ हजार, तीन अर्ब ५० करोड ६१ लाख ९९ हजार, तीन अर्ब ७३ करोड ३७ लाख २५ हजार र पाँच अर्ब ८५ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । ठूलो भोलुमका बजेट विनियोजन गरिएको भएपनि प्रदेश सरकारको कमजोर खर्च क्षमताका कारण सबै बजेट खर्च हुन भने सकेन र सडक पुल निर्माणको भौतिक प्रगति पनि अपेक्षित रुपमा भएन ।
आशातित रुपमा सडक निर्माण हुन नसकेपनि सबै भन्दाबढी सडक पूर्वाधारकै विकास भएको निर्देशक जोशीले बताए । उनले विगतमा ठेक्का लगाइएका योजनाहरु सम्पन्न हुने चरणमा रहेकाले चालु आर्थिक वर्षको अन्त्यसम्म त्यसको परिणाम देखिने उनले बताए । उनले सडक निर्माण परिणाम आउन थालेको जनाए ।
गत आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरिएको पुँजीगत बजेट मध्ये ६९.५७ प्रतिशत मात्रै बजेट खर्च भएको थियो । आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्म विनियोजित पुँजीगत बजेट मध्ये क्रमशः ६५.७४, ६९.३४ र ७६ प्रतिशत खर्च भएको थियो । फिल्डमा खटिने प्राविधिक कर्मचारीको अभावमा निर्माण कार्यले तिब्रता पाउन नसकेको निर्देशक जोशीले बताए । उनले मौसम, निर्माण कम्पनीको लापरबाही र कम क्षमता, महंगी, कोभिड १९ लगायतका कारणले निर्माण कार्य प्रभावित भएको बताए ।
भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारको पहिलो कार्यकालमा एक हजार भन्दाबढी किलोमिटर सडक कालोपत्रे भएको दाबी गर्छन् । ‘२०७४ मा सुदूरपश्चिममा एक हजार किलोमिटर पनि पक्की सडक नरहेको सुदूरपश्चिममा प्रदेश सरकारले एक हजार भन्दाबढी सडक कालो पत्रे गरेको छ,’ सोमबारको प्रदेश सभा बैठकमा उनले भने, ‘३०।३५ वटा ठूलो सडक पुल र एक सय वटा झोलुंगे पुल बनेको छ । बाजुरा, दार्चुला, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडीमा सडक र पुलहरु निर्माण भएका छन् । दिपायलबाट खप्तड जान झिंरानासम्म यहाँहरु कालोपत्रे सडकबाट जान सक्नु हुन्छ । बाजुरामा कोल्टी मार्तडी सडक निर्माण सम्पन्न हुने चरणमा छ । नौ वटै जिल्लामा प्रदेश गौरवका सडक योजना र राजमार्गको वैकल्पिक सडकहरु निर्माण भइरहेका छन् ।’ कारोबार दैनिकबाट