काठमाडौं। दोस्रो चक्रपथ कलंकी–महाराजगञ्ज–धोबीखोला सडकखण्ड विस्तार सुरु भएको लामो समय भए पनि डिजाइन भने अहिले सम्म सार्वजनिक भएको छैन।
सरकारले चक्रपथ विस्तारका लागि ०७६ सालको दशैँ अगाडीदेखि नै कलंकीबाट रुख काट्न सुरु गरेको थियो। सडक विभागका अनुसार धोबीखोला सम्मकै रुख काटि सकिएको छ।
प्रायः सबै बिजुलीका पोल र टेलिफोनको तार पनि व्यवस्थापन गरिसकिएको छ। तर, अहिलेसम्म डिजाइन भने सार्वजनिक भएको छैन।
सरकारले पहिलो चरणमा चीन सरकारको सहयोगमा कोटेश्वर–कलंकीसम्मको ८ लेनको सडक विस्तार गरेको थियो। तर बनिसकेको सडक पैदल र चालकमैत्री नदेखिएको भनी यसको चर्को आलोचना भयो। विज्ञहरूले डिजाइनमा त्रुटीसमेत भएको निष्कर्ष निकालेका थिए।
काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर सुमित्रा अधिकारीले अझै चीनबाट दोस्रो चक्रपथको आयोजनाको डिजाइन सहितको विस्तृत परियोजना प्रतिवेदन डिपिआर नआएकाले सार्वजनिक नगरिएको जानकारी दिइन्।
हामीले सडक मात्रै रेखांकन गर्ने हो, चीनकै सहयोगमा बनाउनुपर्ने भएकोले डिजाइन उनीहरूले नै बनाउँछन्, तर अझै डिजाइन नआएको उनले बताइन्। दोस्रो चरणको सडकखण्ड पनि चीनको सहयोगमा कलंकीदेखि धोबीखोला सम्मको ११ किलोमिटर ६ सय ४ मिटर भाग ८ लेनकै विस्तार गरिने जानकारी उनले दिइन्।
दोस्रो चरणको सडक विस्तारमा पहिलाको जस्तै त्रुटी नगर्न विज्ञहरूले सरकारलाई सुझाव दिइरहेका छन्। सर्वसाधारणले समेत चक्रपथ विस्तार सुरक्षित सडक हुनुपर्ने माग गर्दै आएका छन्। डिजाइन तत्काल सार्वजनिक गर्न पनि माग गरिरहेका छन्।