कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको वैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विपन्न उपभोक्तालाई घर निर्माणका लागि निःशुल्क काठ उपलब्ध गराउने भएको छ।
समूहले उनीहरूलाई चिरान गरिएको काठ घरसम्मै ढुवानी गरी उपलब्ध गराउने व्यवस्था मिलाएको हो। समितिका अध्यक्ष बहादुरसिंह महराका अनुसार विपन्न परिवारलाई साँझ बिहानको छाक टार्नै मुस्किल रहेको अवस्थामा घर निर्माण र मर्मत गर्न नसक्ने देखिए पछि निःशुल्क रुपमा काठ उपलव्ध गराउने निर्णय गरिएको हो।
झोपडीमा बस्दै आएका परिवारले सर्प, विषालु किरा र बर्सातमा पानी पर्दा निर्क सास्ती खेप्नुपर्ने अवस्था थियो। काठ उपलब्ध गराइएपछि विपन्न परिवारले सुरक्षित घर निर्माण गरी सहजरूपमा बस्न पाउँछने छन्।
चार वर्षदेखि नियमित रूपमा समितिले दुई दर्जन बढी अपाङ्गता भएका व्यक्तिलाई मासिक रूपमा ३०० का दरले भत्ताबापत रकम उपलब्ध गराउँदै आएको छ। समितिका अध्यक्ष महराले भने, ‘बेवारिसे शवको दाहसंस्कारका लागिसमेत निःशुल्क दाउरा उपलब्ध गराउने व्यवस्था गरेका छौं।’
सामुदायिक वनकै ट्रयाक्टरमा राखेर बाह्य क्षेत्रको तुलनामा आधा सस्तोमा चिरानी गरिएको काठ उपभोक्ताको घरसम्मै ढुवानी गर्ने व्यवस्था गरिएको उनको भनाइ छ। समितिले डिभिजन वन कार्यालय कञ्चनपुरको सहमतिमा चालु आवमा साल, राइजामुन, बर्रो, असना, कर्मा, जामुनलगायतका दुई हजार ४२ गोलियाको १७ लाख ३६ हजार ७६९ क्युविक फुट काठ चिरानी गर्ने सहमती पाएको छ। काठ चिरानीको सव डिभिजन वन कार्यालयका कर्मचारीको प्रत्यक्ष देखदेखमा हुने बताइएको छ।