रामेछाप। निर्माण व्यवसायीले तोकिएको अवधिमा काम नगरेका कारण रामेछाप जिल्लामा पर्ने मध्यपहाडी राजमार्गको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन।
रामेछापमा मध्यपहाडी राजमार्गको ४४ किलोमिटर खण्ड रहेको छ । त्यसमध्ये अझै साढे ४ किलोमिटरको ट्र्याक नै खनिएको छैन । ट्र्याक खनेकोे खण्डमा पनि तोकिएको मापदण्ड पूरा गरिएको छैन ।
मध्यपहाडी सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख दिपेन्द्र पाण्डेका अनुसार निर्माण व्यवसायीलाई तोकिएको अवधिमा नै निर्माण सम्पन्न गर्नका लागि आयोजनाले बारम्बार पत्राचार गरेको छ । तर अझै अपेक्षाकृत रुपमा काम अघि बढेको छैन ।
पाण्डेका अनुसार पुस मसान्तसम्म मात्र म्याद भएको लोहनी एण्ड शिद्धवावा निर्माण सेवाले ट्र्याक खोल्ने काम गरे पनि सन्तोषजनक नभएकाले सुधारका लागि पत्राचार गरिएको छ । ठेक्का सम्झौताको ९३ प्रतिशत भुक्तानी पाइसकेको उक्त कम्पनीले सित्खा क्षेत्रको सडक ट्र्याक खोल्ने कामको जिम्मा लिएको थियो । तोकिएको मापदण्ड अनुसार निर्माण नगरेकाले मापदण्ड बमोजिमको निर्माण गर्न उक्त कम्पनीलाई पत्राचार गरिएको हो ।
‘हामीले पत्राचार गरिसकेका छौं । म्यादभित्र डिजाइन बमोजिमको सडक नबनाएको खण्डमा ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया थाल्छौं,’ पाण्डेले भने ।
रामेछाप खण्डमा पर्ने लुभुखोला, सित्खाखोला र तामाकोसीमा निर्माण गर्नुपर्ने पुलको काम पनि अधुरै रहेको छ । तामाकोसीमा निर्माणाधीन पुलको काममा निर्माण व्यवसायीले तीव्रता दिएका छैनन् । अनेक बहाना गरेर काममा आसालाग्दो प्रगति गर्न नसकेको भन्दै पाण्डेले निर्माण व्यवसायीलाई अन्तिम मौका दिएका हुन् । आयोजनाले विभिन्न खण्डमा ठेक्का लगाएकोमा केही खण्डमा भने काम भइरहेको छ ।
केही दिनअघि रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको बैठकमा निर्धारित समयमै काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया थाल्ने निर्णय भएको थियो । ‘अब हामी त्यही निर्णयलाई टेकेर आवश्यक कदम चाल्छौं ’ उनले भने ।
मध्यपहाडी सडक अन्यत्र निर्माण पूरा भएर पटकपटक मर्मत संभार भइसक्दा पनि रामेछाप खण्डको निर्माणमा ढिलाइ हुनुले रामेछाप जिल्लालाई धेरै कुराले पछि पारेको खांडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताएका छन् ।
नौ मिटर चौडा हुने मध्यपहाडी राजमार्ग डबल लेनको हुनेछ । पाण्डेका अनुसार उक्त सडकको ७ मिटर चौडा भागमा कालोपत्रे हुनेछ । कान्तिपुरबाट