काठमाडौं। निर्माणाधीन सडकबाट उडेको धुलो नियन्त्रण नगरेको भन्दै असोज २४ गते बाराको परवानीपुरका बासिन्दाले ३० मिनेट सडक अवरुद्ध गरेका थिए। निर्माणाधीन सडकको धुलो नियन्त्रण नगर्दा बजार क्षेत्रका पसल, घरहरु धुलाम्य छन्।
बाराको पथलैयादेखि वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी आईपीसी सम्मको ३१ दशमलव २८ किलोमिटर सडक ८ वटा प्याकेजमा ठेक्का लगाएर कालोपत्रे गर्ने काम भइरहेको छ। तर समयमा निर्माण नसकिँदा मालबाहक ट्रक, बस धेरै चल्ने यो सडकको परवानीपुर बजार क्षेत्रमा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्या छ।
‘एक दिन पानी हाल्यो भने पाँच दिन हाल्दैन, न सडक नै समयमा बनाउँछ, पानी हालेर काम गर्नु, खाल्डा खुल्डी पुर्नु भन्दा ठेकेदारले वास्तै गर्दैनन्, अरु सरोकारवाला निकाय पनि कानमा तेल हालेर बसे जस्तो लाग्छ।’परवानीपुर–३ लिपनीका चन्देश्वर यादवले गुनासो गरे।
वीरगञ्ज महानगरपालिका–२१ का अध्यक्ष हबिब मियाँ सडक नबन्दा दिन दिनै जनताको गाली सुन्नुपरेको बताउँछन्। सडकको दुरावस्थाका कारण बाराको जीतपुरका बासिन्दा पनि आजित छन्। ‘ठेकदार काममा ढिलासुस्ती र लापरबाही गर्छ। सर्वसाधारणले धुलो खानुपर्छ’ स्थानीय बताउछन्।
दशैं अगाडि नै निर्माण कम्पनीले तीन महिनाभित्र सक्ने प्रतिवद्धता जनाए पनि कामले गति लिन नसकेको स्थानीय बताउछन्। व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडक पथलैयाले भने धेरैजसो प्याकेजको काम अन्तिम चरणमा पुगेको दावी गरेको छ। कालोपत्रे गर्दा सडक सुख्खा हुनुपर्ने भएकोले बेमौसमी वर्षाले समस्या पारेको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सम्पत लाल दासले बताए। छठपछि कामले गति लिने र चैत मसान्तअघि सडक बनिसक्ने दावी इन्जिनियर दासको छ।