काठमाडौं। इलामको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको विमानले उडान भर्ने भएको छ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नरहेको यस विमानस्थलबाट उडान सुचारु हुने भएको हो । इलाम नगरपालिकाको पहलमा नेपाल एयरलाइन्सको विमानले साप्ताहिक उडान गर्ने भएको हो । यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाले १ माघबाट नै नियमित उडानका लागि पहल भइरहेको जानकारी दिए । १ माघदेखि सातामा एउटा उडान गर्ने भन्नबारे सहमति भएको उनले बताए । यसअघि पनि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा यस विमानस्थलबाट तारा एयरले उडान गरेको थियो । सम्झौता मिति सकिएसँगै उडान बन्द भएको थियो । ११ सिटभन्दा कमी भएमा इलाम नगरपालिकाले ११ सिटको भाडा बेहोर्ने सर्तमा यहाँबाट विमान सञ्चालनमा ल्याएको थियो ।
पछि यात्रु कमी हुँदा नगरपालिकाबाट पैसा नपाउने अर्थात् सम्झौता सकिएसँगै तारा एयरले उडान बन्द गरेको थियो । ठूलो तामझामका साथ उडान सुरु भएपछि विमानस्थल बन्द हुँदा स्थानीय चिन्तित थिए । यो विमानस्थलबाट जहाज चल्ने नचल्ने अन्योलबीच नै नेपाल एयरलाइन्सले उडान भर्ने भएपछि स्थानीय खुसी भएका छन् । यस विमानस्थलबाट प्रायः सबै उडानमा यात्रु आउने गरेका थिए । तारा एयरले उडान बन्द गरेसँगै इलामबाट पछि उडान भएको छैन ।
नेपाल एयरलाइन्सको जहाज सञ्चालकका लागि इलाम नगरपालिकाले पहल गरेको हो । भाडासमेत न्यून राख्न पहल भइरहेको इलाम नगरपालिकाले जनाएको छ । यसका लागि उचित मूल्य निर्धारण गर्न नेपाल वायु सेवा निगमसमेत लाग्नेमा आफूहरू विश्वस्त रहेको इलाम नगरपालिकाका प्रमुख थापाको भनाइ छ । काठमाडौंबाट करिब १ घण्टाको अवधिमा इलाम उडान गर्न सकिने यसअघि नै तारा एयरले बताएको थियो । यस विमानस्थलको ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ ।
धावनमार्गसमेत पक्की भइसकेको छ । विमानस्थलको घेराबारा र टर्मिनल भवन निर्माणका लागि रकम विनियोजन भइसकेको जनाइएको छ । यस विमानस्थल सञ्चालन हुनसके इलाममात्र नभएर पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने छन् । साथै नजिक रहेको भारतका विभिन्न क्षेत्रबाट समेत काठमाडौं उडानका लागि यात्रुहरू आउन सक्ने छन् । जहाजबाट इलाम–काठमाडौं नियमित उडान भए जिल्लाको पर्यटनसमेत प्रवर्द्धन हुने पर्यटन व्यवसायीको बुझाइ छ ।
धावनमार्ग निर्माण भएर पनि उडान अन्योलमा हुँदा स्थानीय पर्यटन व्यवसायी चिन्तित थिए । इलामको इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलमा जेठ यता नै बन्द भएको थियो । गत ६ जेठबाट हालसम्म हुन सकेको थिएन । करिब ३० करोडको लागतमा निर्माण सम्पन्न विमानस्थलमा विगत दुई महिनादेखि हवाइजहाज उडान हुन नसक्दा यात्रुहरू झापाको भद्रपुर र विराटनगर विमानस्थलबाट उडान गरिरहेका छन् ।
इलाम सदरमुकामनजिकै निर्माण भएको विमानस्थल गत १ फागुनमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, पूर्वसंस्कृति तथा पर्यटनमन्त्री प्रेम आले, इलाम क्षेत्र प्रदेश नं १ का पर्यटनमन्त्री खिनु लङवा लिम्बुलगायतको उपस्थितिमा रनवेको उद्घाटन गरी सञ्चालन सुरु भएको थियो ।
नागरिक उड्डययन प्राधिकरणसँगको सहकार्यमा इलाम नगरपालिकाले काम अगाडि बढाएको जनाइएको छ । इलामबाट नियमित उडान हुनसके पूर्वीपहाडी जिल्लासहित भारतको सिक्किम, मिरिक, दार्जिलिङलगायतका स्थानका मानिसलाई यात्रा सहज हुनेछ । भारत नजिकका क्षेत्रबाट काठमाडौं जानसमेत यसै विमानस्थल प्रयोग हुने अपेक्षा लिइएको छ । कारोबारबाट