काठमाडौं। पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय कुश्मा पर्वतले समयमा काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले आज (बिहिबार) सूचना प्रकाशित गर्दै ठेक्का तोड्ने चेतावनी दिएको हो।
कार्यालय र निर्माण कम्पनी श्री एमपी/एससीएफ/ईसीसी जे.भी बीच मिति २०७२/१०/१० मा सम्झौता भई विभिन्न मितिमा गरि पाचौं पटक सार्वजानिक खरिद नियमावलीको बाह्रौं संसोधन अनुसार म्याद थप भई माइलस्टोन समेत तोकी ठेक्काको म्याद २०८०/०३/०५ सम्म कायम भएको कार्यालयले जनाएको छ।
तोकिएको माइलस्टोन अनुसार कार्यप्रगति नभएको, विभिन्न समयमा सरोकारवाला निकायहरुसमेत बैठक बसी माइन्युट गरेको मा सो अनुसार काम नभएको, कार्यालयले गरेका पत्रचारको समेत जवाफ नआएको र लामो समयसम्म निर्माण व्यवसायीको आधिकारीक प्रतिनिधि सम्पर्क बिहिन भएकोले ठेक्का किन नतोड्ने भन्ने सूचना पत्रिकामा प्रकाशित गरिएको थियो।
सूचना प्रकाशित भएको केहि दिनमा निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधि सम्पर्कमा आई निर्माण कार्य समयमै गर्ने प्रतिबद्धता गरेकोले २०७९/०९/०५ गते जिल्ला प्रशासन कार्यालय, बागलुङमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा निर्माण व्यवसायी, कार्यालय र अन्य सरोकारवालाहरुबीच सर्वपक्षीय बैठक बसी समयमा काम गर्ने प्रतिबद्धता भएको थियो।
साही बैठकमा भएको प्रतिबद्धता पुरा भए नभएको भनि योजना प्रमुख तथा लगायतबाट साइट निरिक्षण गर्दा साइटमा कुनै पनि गतिबिधि नभएको कार्यालयले जनाएको छ। पटक पटक अवसर दिदा समेत निर्माण व्यवसायीबाट प्रतिबद्धताअनुसार काम नभएको हुदाँ समयमा काम नगर्नुको कुनै कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट ३ दिन भित्रमा आधिकारिक प्रतिनिधि उपस्थित भई स्पष्टीकरण पेश गर्नुहुन कार्यालयले अनुरोध गरेको छ। अन्यथा, सार्वजानिक खरिद नियमावली, सम्झौताको शर्त तथा विभिन्न मितिमा गरेको माइन्युट बमोजिम ठेक्का तोडिने कार्यालयले चेतावनी दिएको छ।