पोखरा। गण्डकी प्रदेशको सीमांकन गर्ने बेलामा उत्तर दक्षिण जोड्ने गरी नवलपुरलाई गण्डकीमा मिसाइएको छ। साविकको नवलपरासी जिल्लालाई टुक्रयाएर आधा जिल्ला गण्डकी र बाँकी आधा लुम्बिनीमा मिसाइएको हो। भूगोलका हिसावले गण्डकी नेपालका छिमेकी दुवै देशसँग जोडिएको छ। त्यसैले प्रदेश सरकार गठन भएकै बेला त्रिवेणी–कोरला सडकलाई प्रदेशको लाइफलाइनको रूपमा अघि सारिएको छ। प्रदेश गौरवको योजना अन्तर्गत पर्ने यो आयोजनाका विभिन्न खण्ड अन्य सडक आयोजना अन्तर्गत पर्छन्।
त्यस्तै दुलेगौंडादेखि पोखरासम्म पृथ्वी राजमार्ग, पोखरादेखि याम्दीसम्म पोखरा महानगरको सडक छ भने याम्दीदेखि मालढुंगासम्म मध्येपहाडी राजमार्ग रहेको छ। कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामध्ये छ वटा खण्डको काम सकिएको छ। १० वटा प्याकेजमा ठेक्का लगाइएकोमा बेनी–जोमसोम र चराङदेखि छोसेरसम्मको सडक स्तरोन्नति बाँकी छ। २५ किलोमिटर दूरीको यो खण्ड तामाङ–गौरी पार्वती–सप्तकोसी जेभीले ठेक्का लिएको हो।
भेनादेखि घिलिङ, कागबेनीदेखि ताङवे, ताङ्वेदेखि चैले, चैलेदेखि चराङ र छोसेरदेखि कोरला खण्डको सडक स्तरोन्नति भइसकेको आयोजनाले जानकारी गराएको छ। २५ किलोमिटर रहेको जोमसोमदेखि कागबेनीसम्मको सडक खण्डमा ग्राभेल सकेर कालोपत्रे गर्न लागिएको हो। बेनीदेखि कोरलासम्म १८६ किलोमिटर सडक रहेकोमा त्यसमध्ये जोमसोम कोरला ११० किलोमिटर र बेनीदेखि जोमसोमसम्म ७६ किलोमिटर रहेको छ।
यस्तै बेनी–जोमसोम खण्ड भने चार प्याकेजमा काम भइरहेको छ। म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्म र राहुघाटदेखि बेगखोलासम्म कालोपत्रे गर्न थालिएको छ। यो दुईवटा खण्ड २५ किलोमिटरको रहेको छ। कैकुखोलादेखि खन्तीसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्रेको काम सकिन लागेको छ। सबैभन्दा जोखिमपूर्ण र काम गर्न सकस परेको नारच्याङदेखि कैकुखोला अन्तर्गत काभ्रे, बादरजुङ, घोप्टेभीर लगायत क्षेत्रमा समस्या परेको छ। कडा चट्टान र लेदो माटो भएकोले काम गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ। कोवाङ–जोमसोम १८ किलोमिटर सडक पनि कालोपत्रेको प्रक्रियामा रहेको छ। त्यस्तै बेनीदेखि मालढुंगा सडकमा भने फराकिलो बनाउनै बाँकी नै छ।
यस सडकअन्तर्गत गत वर्षसम्म पाँच अर्ब १३ करोड खर्च भइसकेको छ। यो वर्ष थप एक अर्ब ३० करोड विनियोजन भएको आयोजनाले जनाएको छ। यो वर्ष सबै खण्डको काम पूरा हुने आयोजना प्रमुखले जानकारी दिएका छन्। मालढुंगापछि पोखराको याम्दीसम्म पर्ने मध्येपहाडी लोकमार्गको पनि स्तरोन्नती भैरहेको छ। त्यस्तै उत्तर–दक्षिण राजमार्ग अन्तर्गत भीमाददेखि डेढ गाउँ हुँदै त्रिवेणीदेखि सुस्ता जोड्ने सडकको अधिकांश ट्रयाक खुलेको छ भने डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउन ठेक्का लागिसकेको छ।
चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा रहेको ८ किलोमिटर दुम्कीबासदेखि त्रिवेणी सडकखण्ड पूर्ण अवरोध रहेको छ। यस क्षेत्रका लागि अघिल्लो सरकारले बजेट छुट्यायो तर निकुञ्जका कारणले गर्दा काम गर्न सकेन। निजकुन्जबाट यो क्षेत्र छुटिने वित्तिकै काम अघि बढ्ने र यसका लागि केन्द्र सरकारलाई भनिसकेको हुनाले यदी सो माग सुनिश्चित नभएमा सुरुङमार्ग बनाएर भए पनि सडक खोल्ने कुरा गण्डकीका मुख्यमन्त्रीले जानकारी दिएका छन्। सुरुङमार्ग बनाउनका लागि १८ देखि २० अर्ब लाग्ने अनुमान रहेको छ। यो ट्रयाक खोल्न मुख्यमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रसमेत बुझाएका छन्।