काठमाडौं । महोत्तरी गाउँपालिकाले अस्पताल निर्माणका लागि आह्वान गरेको बोलपत्र शंसोधन गरेको छ । केही समयअघि आह्वान गरेको बोलपत्रमा केही त्रुटी भएको भन्दै गाउँपालिकाले शंसोधन सहित अर्को सूचना प्रकाशन गरेको हो ।
गाउँपालिकाले १५ शैय्याको अस्पताल निर्माणका लागि १० वर्षमा दुई वटा सरकारी भवन निर्माण गरेको कार्य अनुभव मागेकोमा त्यसलाई शंसोधन गरेर ५ वर्षमा दुई वटा सरकारी भवन निर्माण गरेको कार्य अनुभव मागिएको छ ।
त्यसैगरी करिब २१ करोड लागतको अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनीको अक्सिजन प्लान्ट हाउस, इलेक्ट्रिक कन्ट्रोल हाउस, जेनेरेटर हाउस बनाएको अनुभव हुनुपर्ने माग थप गरिएको छ । जेनेरेटर, ट्रान्सर्फमर, हाइ भोल्टेज अटोमेटिक कन्ट्रोलर, सोलार लाइट सिस्टम जडानको अनुभव थप गरिएको छ ।
महोत्तरी गाउँपालिकाले बोलपत्र यसरी शंसोधन गर्नुमा गाउँपालिकाले नियोजित ढंगले कुनै निश्चित कम्पनीलाई टेन्डर दिन खोजेको देखिएको छ । सार्वजनिक खरिद नियमावली अनुसार यसरी सामान्य क्राइटएरिया माग गर्न पाइन्दैन । शंसोधित बोलपत्रको अधिकांश क्राइटएरिया सार्वजनिक खरिद नियमावलीको मर्म विपरीत छ ।
२१ करोड लागतको निर्माण कार्यका लागि यस्ता साना साना जडान र निर्माणको अनुभव माग्नु सुनियोजित ढंगले कुनै निर्माण कम्पनी लक्षीत भएको बुझिन्छ । गाउँपालिकाले शंसोधन गरेको बोलपत्रमा जेनेरेटर, ट्रान्सर्फमर, हाइ भोल्टेज अटोमेटिक कन्ट्रोलर, सोलार लाइट सिस्टम जडानको अनुभव थप गरिएको छ । यो बजारमा सजिलै खरिद गरेर जडान गर्न सकिने कुरा हो ।
यस विषयमा महोत्तरी गाउँपालिकाका शुनिल साहसँग कुरा गर्दा उनले बि.ओ.क्यूमा सबै काम गर्नुपर्ने हुनाले सबैको कार्य अनुभव माग गरिएको बताए ।
यसरी सेटिङमा टेन्डर दिँदा विना प्रतिस्पर्धा एउटा कम्पनीले ठेक्का पाउँछ । यसरी ठेक्का दिँदा सरकारलाई २५ देखि ३० प्रतिशतसम्म आर्थिक भार पर्न जान्छ ।
यस टेन्डर प्रक्रियामा पनि केही तलमाथि भए/नभएको सम्बन्धीत निकायले बुझेर सेटिङ हो भने कारबाही गरिनु आवश्यक छ । सेटिङ नै नभएपनि नियमविपरीत भएका काम भने रोकिनु पर्छ ।