काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ ।
राहुघाट जलविद्युतमा कुल ६ हजार २७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार ७०० मिटर सुरुङ निर्माण सकिएको आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर विष्टले जानकारी दिए । “तीनवटा अडिटबाट सुरुङ निर्माणलाई तीव्रता दिएको छ ।” मासिक १ सय ८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको यस आयोजनाको आगामी १ वर्षभित्र सुरुङको ब्रेकथ्रु गर्ने लक्ष्य लिइएको छ ।
अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको यस आयोजनामा सुरुङमार्गसँगै बाँध र विद्युतगृहतर्फको पूर्वाधार निर्माणले समेत गति लिएको छ । सर्च साफ्टको सुरुङ निर्माण गरेर लाइनिङको काम अघि बढाइएको छ भने प्रेसर साफ्टको सुरुङ निर्माणको काम भइरहेको छ । प्रेसर साफ्टको एक हजार ५० मिटर सुरुङमध्ये ६ सय ८८ मिटर बढी सकिएको छ ।
रघुगंगा गाउँपालिका–४ दग्नाम र ५ झिँको सिमानामा बाँध रहने यस आयोजनामा बाँधतर्फ फाउण्डेसनको काम गरिएको छ । बाँधस्थलमा पानी बग्ने ठाउँ, पानी थिग्राउने स्थल, पावर इन्टेक, मुख्य सुरुङमार्ग लगायतका पूर्वाधार निर्माणको कामसमेत भइरहेको आयोजनाले जनाएको छ । वडा नम्बर ३ पिप्लेको तिल्केनीचौरमा विद्युतगृह रहने क्षेत्रमा समेत पूर्वाधार निर्माण गरी इलेक्टोमेकानिकलतर्फको काम भइरहेको आयोजनाका प्रोजेक्ट म्यानेजर विष्टले बताए ।
अहिले ठेकेदार कम्पनीले आयोजनामा दैनिक रूपमा तीन सय बढी मजदुर परिचालन गर्ने गरेको छ । भारतीय आयात–निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकास एसोसियट्स ९जेपी०सँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो।
वि.सं २०७५ देखि कार्यक्षेत्रमा निर्माण कार्य अघि बढाएको ठेकेदार कम्पनीको कुल ४५ महिनाको ठेक्का अवधिको म्याद सन् २०२२ फेब्रुअरीमा सकिएपछि सन २०२३ अगस्टसम्मका लागि पुनः म्याद थप भएको छ । ठेकेदार कम्पनी र आयोजनासँग निरन्तर छलफल र स्थानीयस्तरमा उचित वातावरण बनाएर निर्माण कार्यलाई पूर्णता दिन रचनात्मक पहल भइरहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी बताउँछन् । कारोबार दैनिकबाट