काठमाडौं। नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखिएको समस्याले निर्माण उद्योगमा परेको समस्या बारे उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराइएको छ।
नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरी क्रसर उद्योग बन्द हुँदा निर्माण क्षेत्रमा असर परेको जानकारी गराएको हो।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसार लगायतमा समस्या भएसँगै निर्माण कार्यहरू ठप्प भएको जानकारी गराए । गृह मन्त्रालयको निर्देशनपछि मुलुकभरका सम्पूर्ण क्रसर उद्योग बन्द भइसकेको भन्दै अध्यक्ष सिंहले त्यसको प्रत्यक्ष मारमा निर्माण उद्योग परेको बताए ।
अध्यक्ष सिंहले उचित समय दिएर क्रसर उद्योगहरूलाई वैद्य गराउन सकिने सुझाव दिए । निर्माण उद्योगलाई चलायमान बनाउन मोबिलाइजेशन पेश्की बापत्को २० प्रतिशत रकम उपलब्ध गराउन अध्यक्ष सिंहले अनुरोध गरे। पहिलो माइलस्टोन भित्र वर्षात्को समय, वडादशैं, तिहार, छठ र दोस्रो माइलस्टोन भित्र निर्वाचन आदिका कारणले गर्दा माइलस्टोन पूरा हुन नसकेको हुँदा १२ औं संशोधनबाट भएका म्याद थपको अवधिलाई नै शतप्रतिशत माइलस्टोन कायम गर्नु पर्ने महासंघको धारणा रहेको अध्यक्ष सिंहले बताए।
जवाफमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्या र अन्य नीतिगत विषयहरू सम्बन्धित् निकायसँग छलफल गरी समाधान गर्ने बताए। महासंघ प्रतिनिधिमण्डललमा एसोशिएट उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, उपमहासचिव (आन्तरिक) नरहरि थपलिया, कार्य समिति सदस्य पञ्चराम तामाङ (पदम), निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङ, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायतको सहभागिता रहेको थियो ।