फाइल तस्बिर
बाँके। बाँकेमा राप्ती नदी बाहेक मानखोला, डुडुवा खोला र मोरङ्गा खोलाका कारण बर्षेनी सयौं बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ । कटान नियन्त्रणका लागि सरकारी कार्यालयले बनाएको गुरुयोजना बजेट अभावमा कार्यान्वयनमा आउन सकेको छैन ।
तीन वटै खोलाको कटान नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगञ्जले छुट्टाछुट्टै गूरुयोजना बनाएको निमित्त कार्यालय प्रमुख परशुराम चौधरीले जानकारी दिए ।
कार्यालयका अनुसार करिब चार वर्षअघि खोलाको कटान नियन्त्रणका लागि गूरुयोजना निर्माण गरिएको भए पनि न्यून बजेटका कारण कटान रोकथाम र नियन्त्रणमा प्रभावकारी काम हुन सकेको छैन ।
मानखोला कटान नियन्त्रणका लागि चिसापानीदेखि खजुरा गाउँपालिकासम्म दुवैतर्फ तटबन्ध गर्नेगरी करिब एक अर्ब ६९ करोड रुपियाँ खर्च हुनेगरी गुरुयोजना तयार पारिएको छ । तर नियन्त्रणका लागि निश्चित स्थानमा ससाना कामका लागि १५ लाख रुपियाँ बजेट विनियोजन हुने गरेको छ ।
“कटान नियन्त्रणका लागि तयार पारिएको गुरुयोजनाअनुसार काम गर्ने हो भने कटान रोकथाम र नियन्त्रण गर्न सकिन्छ” जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगञ्जका निमित्त प्रमुख चौधरीले भने– “अहिले विनियोजन हुने बजेटले स्थानीयको आवश्यकता पूरा गर्न सकिएको छैन ।
बाँके क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले मानखोलाको कटान नियन्त्रणका लागि गुरुयोजना अनुसार अघि बढ्नुको विकल्प नभएको बताए । १०–२० लाखको टुक्रे आयोजनाले कटानको दीर्घकालीन समाधान हुन नसक्ने सांसद खत्रीले बताए।
“तत्काल गुरुयोजना कार्यान्वयन गर्न बजेट अभाव हो भने क्षति रोक्नका लागि बढी कटान भएको स्थानमा तत्कालै काम सुरु गरेर जानुपर्छ” खत्रीले भने, “नदी कटान रोकथाम र नियन्त्रणका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक देखिएको छ ।” गोरखापत्रबाट