काठमााडौं। जिल्लाको गौरवको आयोजनाको रूपमा रहेको घोराही–तुलसीपुर चार लेन सडकको काम चार वर्षमा १० प्रतिशतमात्र भएको छ । निर्माण कम्पनीका कारण अहिले निर्माण कार्य ठप्प छ । निर्माण व्यवसायीको लापरबाहीका कारण घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको २८.१९ किलोमिटर सडक विस्तारको काम अलपत्र परेको हो।
उक्त सडक खण्डअन्तर्गत १४.४६ किलोमिटर सडक चार लेन र १३.७३ किलोमिटर सडक दुई लेनका रूपमा निर्माण गर्ने गरी काम अघि बढे पनि विगत सात महिनादेखि काम ठप्प छ । करिब चार वर्षको अवधिमा सडक निर्माणका लागि सातवटा निर्माण कम्पनीले काम गरे पनि सडकको प्रगति भने करिब १० प्रतिशतमात्रै भएको छ ।
सडक निर्माणको सम्झौता म्याद २० असार २०८० सम्म थपिएको भए पनि निर्माण पक्षले थपिएको समय अवधिमा कुनै पनि काम नगरेकाले सडक निर्माणको ठेक्का प्रक्रिया रद्द गर्ने तयारीमा रहेको भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर सडक योजना कार्यालयले जनाएको छ ।
कार्यालयका नासु सनत तिवारीले निर्माण व्यवसायीले काम नगरेको र सम्पर्कमा पनि नभएका कारण करिब नौ लाख अमेरिकी डलर बैंक जमानत जफत गरेको बताए । जमानत जफत गर्दा पनि निर्माण व्यवसायीले काम गर्ने नगर्ने कुनै खवर नगरेको नासु तिवारीले बताए । “काम गर्ने म्याद २० असार २०८० सम्म थप भएकाले कार्य सम्पादन जमानत जफत भएको छैन,” आयोजनाका नासु तिवारीले भने, “अहिले करिब नौ लाख अमेरिकी डलर बैंक जमानत जफत गरेका छौं । उसको अझै काम गर्ने समय भएकाले सबै जफत गरेका छैनौ ।”
उनले सबै जफत गर्दा रकम बढ्नेसमेत बताए । २८ जनवरी २०१९ मा एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलरमा सडक विस्तारको काम गर्ने गरी भारतको तथ्य इन्जिनियरिङ कम्पनीसँग सम्झौता भएको थियो । सडक निर्माणको काम सुरुमा भारतको तथ्य इन्जिनियरिङ कम्पनीको कागजातबाट अनुप पाण्डेयले अष्टभैरव निर्माण सेवाबाट गरेका थिए ।
तर पाण्डेयले काम गर्न नसकेपछि २२ अक्टोबर २०२१ मा भारतको तथ्य इन्जिनियरिङ कम्पनीका प्रोप्राइटर प्रवीण पाण्डेयले अनुप पाण्डेयलाई कामबाट हटाई आधिकारिक प्रतिनिधि एकेन्द्र खड्कालाई सडक निर्माणको जिम्मा दिएका थिए । एकेन्द्रबाट पनि सडक विस्तारको काम हुन नसकेपछि कम्पनीले तीन टुक्रामा सडक विस्तारको काम गर्ने गरी बेडा बाबा कन्स्ट्रक्सन, विमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई कामको जिम्मा दिएको थियो ।
तर त्यी कम्पनीबाट पनि कुनै काम नभएपछि कार्यालयले १४ मार्च २०२२ मा ठेक्का प्रक्रिया रद्द गर्ने चेतावनी दिएको थियो । त्यसपछि फोर लेन सडकको काम पेटी ठेकेदारका रूपमा काठमाडौंको श्रेष्ठ कन्स्ट्रक्सनले गर्दै आएको थियो । ६ जेठ २०७८ मा सडक निर्माण गरी सक्नुपर्नेमा २७ साउन २०७८ मा सक्ने गरी म्याद थपे पनि काम भएन र २८ पुस २०७८ सम्मका लागि म्याद थप गरिएको थियो । दुईपटक थपको म्याद गुजारेको निर्माण कम्पनीलाई फेरि २९ वैशाख २०७९ सम्म काम सक्ने गरी म्याद थप्दा पनि काम नगरेपछि अहिले ठेक्का प्रक्रिया तोड्ने गरी प्रक्रिया अगाडि बढाएको आयोजनाले बताएको छ ।
उनका अनुसार श्रेष्ठ कन्स्ट्रक्सनको जमानत जफत हुने प्रक्रिया सुरु भइसके पनि निर्माण कम्पनी सम्पर्कमा नआएको बताए । “निर्माण कम्पनीको मनसाय बुझ्दा ऊ काम गर्ने पक्षमा छैन,” उनले भने, “त्यसैले गर्दा पनि ठेक्का तोड्नुको विकल्प छैन । तर अहिले कानुनी बाध्यताका कारण तोड्न मिल्दैन ।” तिवारीका अनुसार ठेक्का रद्द गर्न सम्पूर्ण कामको मूल्यांकन गर्नुपर्ने भए पनि अझै काम गर्नका लागि निर्माण कम्पनीको समय भएकाले त्यसको हिसाब किताब भएपछि सम्झौता तोडिने बताए ।
“२०८० असारपछि ठेक्का तोडेर बल्ल नयाँ टेन्डरको काम हुनसक्छ,” उनले भने, “तर अहिले सम्झौताअनुसार तोड्न नमिल्ने भए पनि निर्माण कम्पनीले पटक पटक गरेको सम्झौताअनुसार काम गरेको छैन । जसले गर्दा उसले अब काम गर्दैन भन्ने बुझ्न सकिन्छ । त्यहीअनुसार प्रक्रिया पुर्याएर यस आर्थिक वर्षको अन्त्यमा सम्झौता तोड्ने काम हुनेछ ।” समयमा नै सडक निर्माण नहुँदा सडक दुर्घटनामा धेरैले ज्यानसमेत गुमाएका छन् । कारोबार दैनिकबाट