काठमाडौं। इलामबाट काठमाडौं हवाई उडान सुरु भएको छ । नेपाल एयरलाइन्सको जहाजले उडान सुरु गरेको हो । एक वर्षदेखि उडान स्थगित भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा इलाम नगरपालिकाको पहलमा आइतबारदेखि पुनः उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सले आइतबारदेखि सातामा एक दिन दिन काठमाडौं–इलाम र इलाम–काठमाडौं उडान गर्ने इलाम नगरपालिकाले सुरु गरेको हो ।
सातामा एक दिन उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमतिपछि आइतबारबाट उडान सुरु भएको इलाम नगरप्रमुख केदार थापाले जानकारी दिए । इलामबाट काठमाडौंका लागि बिहान साढे ९ बजे उडान हुने तालिका बनाइएको छ । १९ सिट क्षमताको ट्विनअटर जहाजको उडानको सुरुवातको अवसरमा नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीसहितको टोली काठमाडौंबाट इलाम आएको थियो ।
जहाजका क्याप्टेन पेम्बा सेर्पा, रक्षित मल्ललगायत उडान कर्मचारी र नेपाल वायुसेवा निगम व्यवस्थापन पक्षलाई इलाम नगर प्रमुख केदार थापा, उप–प्रमुख, प्रमुख जिल्ला अधिकारी माधव ढुंगाना विमानस्थलमा रहेका जनप्रतिनिधि, स्थानीयबासी, व्यवसायीले फुलमालाले स्वागत गरेका थिए । आइतरबारबाट सुरु भएको पहिलो उडानमा आठजना यात्रु काठमाडौंका थिए ।
अब हरेक आइतबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट बिहान साढे ७ बजे इलामको फाल्गुनन्द विमानस्थलका लागि उडान हुने र इलामबाट बिहान साढे ८ बजे काठमाडौं उडान हुने नेपाल एयरलाइन्स फाल्गुनन्द विमानस्थलका कर्मचारी दिनेश सुन्दासले बताए । इलामबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि इलामको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने इलाम नगर प्रमुख केदार थापाले बताए ।
पर्यटकीय जिल्ला इलाममा हवाई सेवा सुचारु भएकाले नियमित उडानका लागि सबै इलामबासीले सहयोग गर्नुपर्ने नेपाल एयरलाइन्सका कार्यकारी अधिकृत युवराज अधिकारीले बताए । फाल्गुनन्द विमानस्थल इलामबाट काठमाडौंको एकतर्फी भाडा ६ हजार ३ सय तोकिएको छ । काठमाडौंबाट इलामका लागि पनि एकतर्फी भाडा ६ हजार तीन सय नै तोकिएको छ । तर ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ ।
एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ । त्यस्तै एक उडानमा दुई जना २५ वर्ष ननाघेका विद्यार्थीलाई परिचयपत्र र उमेर खुल्ने प्रमाणपत्रको आधारमा करबाहेकको रकममा २५ प्रतिशत भाडा छुट गरिएको छ । दुई वर्षदेखि १२ वर्षसम्मका सबै बालबालिकालाई जन्मदर्ताको आधारमा भाडामा २५ प्रतिशत छुट गरिएको छ ।
यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तल्लाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिका प्रमुख केदार थापाले बताए । इलाम–काठमाडौं र काठमाडौं–इलाम उडानमा ५० देखि ५५ मिनेट लाग्ने बताइएको छ । उक्त विमानस्थलमा गत फागुनमा तारा एयरले इलाम नगरपालिकासँगको सम्झौतामा व्यावसायिक उडान सुरु गरेको थियो । तर ताराले यात्रु नपाएको भन्दै गत जेठ महिनादेखि एकलौटी रूपमा उडान बन्द गरेपछि विमानस्थल सुनसान थियो ।
इलाम नगरपालिकाको पहलमा पुनः उडान सुचारु भएपछि जिल्लाबासी हर्षित छन् । यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ ।
फाल्गुनन्द विमानस्थल निर्माणका २० वर्षपछि धावन मार्ग कालोपत्रे भएको थियो । विमानस्थल कालोपत्रे सम्पन्न भएपछि नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको थियो । इलाममा ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको छ ।
२०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि निर्माण प्रक्रिया २०६८ सालबाट भएको थियो । २१ जेठ २०७५ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । करिब २८ करोड रुपैयाँ खर्चमा पक्की धावनमार्गसहितको विमानस्थल निर्माण गरिएको छ । तर अझै तारजालीसहितको घेराबारा भएको छैन । यो कार्यसमेत अगाडि बढेको बताइएको छ । कारोबार दैनिकबाट