काठमाडौं। नेपालमा विद्युत उत्पादन बढेर लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र प्रयोग बढ्न थालेको छ। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै विद्युत खेर जान थालेको हो।
अहिले नेपालमा १७ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन भइरहेको भएपनि विद्युत खपत क्षमता भने १३ सयदेखि १४ सय मेगावाट मात्रै रहेको छ। यो तथ्यांकले नेपालको मागभन्दा बढी विद्युत उत्पादन भइरहेको पुष्टि गर्छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ताले हाल दैनिक २०० मेगावाटदेखि ५०० मेगावाटसम्म विद्युत खेर गइरहेको जानकारी दिएका छन्। दिउँसोको समयमा अफिस, उद्योग कलकारखाना चल्ने भएकाले २०० मेगावाटसम्म खेर जाने र रातीको समयमा कलकारखाना बन्द हुँदा ५०० मेगावाटसम्म खेर जाने कुरा उनले बताएका छन्।
कात्तिक १७ गते यता भारतमा दैनिक ४९ मेगावाट विद्युत निर्यात भइरहे पनि खेर गइरहेको विद्युत सदुपयोग हुन सकेको छैन। त्यसैले, लोडसेडिङ अन्त्य भएर विद्युत खेर जाने स्थिति आएपछि उपभोक्ताको ध्यान विद्युतीय सामग्री प्रयोगतर्फ मोडिएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघले लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र उपभोग बढेको बताएको छ। २०७५ सालमा लोडसेडिङ अन्त्य हुनु अघिसम्म नेपालमा घरायसी उपयोगमा विद्युतीय सामग्री प्रयोग कल्पना समेत हुँदैनथ्यो। अघिल्लो आर्थिक वर्ष २०७७/७८ सम्म पनि विद्युतीय सामग्री आयात न्यून थियो। गत आर्थिक वर्षमा केही प्रतिशत बढेकोमा चालू आर्थिक वर्षमा भने ह्वात्तै बढ्ने भएको छ।
खपतभन्दा बढी विद्युत उत्पादन भएसँगै ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले विद्युतीय सामग्री प्रयोग बढाउन उपभोक्तालाई निरन्तर घच्घच्याइरहेका छन्। यससँगै नेपालमा विद्युतीय सामग्रीको उपभोग बढ्दो अवस्थामा छ। सरकारी निकायले खाना पकाउन एलपीजी ग्यासको साटो विद्युतीय सामग्री प्रयोग गर्न भनेपछि हाल उपभोक्ताले पनि अनुशरण गरिरहेका छन्। गत आर्थिक वर्ष २०७७/७८ को तीन महिना अवधि तुलनामा पछिल्लो अवधिमा घरायसी प्रयोग हुने विद्युतीय सामग्री आयात निकै बढेको छ। गत वर्ष साउनदेखि असोजसम्म १ करोड ३४ लाख रुपैयाँको विद्युतीय आइरन, ५ करोडको माइक्रोवेभ ओभन र ७ करोडको राइस कुकर आयात भएको थियो।
चालू आर्थिक वर्षको तीन महिनामा १ करोड ९८ लाख रुपैयाँ बराबरको विद्युतीय आइरन भित्रिएको छ भने ९ करोड ५५ लाख रुपैयाँको माइक्रोवेभ ओभन र ९ करोड रुपैयाँ बराबरको राइस कुकर भित्रिएको छ। त्यस्तै, विद्युतीय कित्लीको आयातमा पनि यो वर्षको तीन महिनाभित्र ९ करोड रुपैयाँभन्दा धेरै रकम बाहिरिएको छ। यसैगरी चियारकफी बनाउने जग, विद्युतीय कीटनाशक यन्त्र, टोस्टर, हेयररह्याण्ड ड्रायर लगायत सामग्रीको आयातसमेत बढेको देखिएको छ। यद्यपी, यस अवधिमा विद्युतीय चुलोको आयात भने घटेको भन्सार विभागले जानकारी दिएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा घरायसी प्रयोजनमा प्रयोग हुने विद्युतीय सामग्री आयात बढेको छ। अघिल्लो वर्ष ८ करोड ८६ लाख रुपैयाँको विद्युतीय आइरन भित्रिएकोमा गत वर्ष ९ करोड ७५ लाख रुपैयाँ बराबरको भित्रिएको छ। त्यस्तै, माइक्रोवेभ ओभन आयात करिब १४ करोड रुपैयाँले बढेको छ भने राइस कुकर आयात ४२ करोड रुपैयाँले बढेको छ भने टोस्टर, चिया/कफी बनाउने जग, कीटनाशक यन्त्र, हेयर/ह्याण्ड ड्रायर आयात पनि बढिरहेको छ ।