काठमाडौं। हुलाकी राजमार्ग निर्देशनालयले लामो समयदेखि सम्पर्कबिहिन पाँचवटा जेभीसहितका निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी सुरु गरेको छ।
निर्देशनालयले बिहीबार एक सूचना जारी गर्दै लामो समयसम्म पनि निर्माण कार्य सुरु नगरेको पाइएकाले ५ वटा जेभीसहितका निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी सुरु गरेको हो।
निर्देशनालयका अनुसार यस योजना अन्तर्गत रहेका पुल तथा सडक खण्डको निर्माण गर्न ठेक्का लिएको र ठेक्का लिएपछि निर्माण व्यवसायी सम्पर्क बिहिन भएका छन्। त्यसपछि निर्देशनालयले पटकपटक निर्माण कम्पनीहरुलाई लिखित पत्र तथा मौखिक निर्देशन दिएको थियो। तर निर्माण व्यवसायीहरुले उक्त निर्देशनको समेत वेवास्ता गरेका थिए।
निर्देशनालयले यो सूचनाको आधार मानेर अबको १५ दिनमा ठेक्का नतोड्ने कारण भएमा कारण पेष गर्न निर्माण व्यवसायीलाई अनुरोध गरेको छ।
ठेक्का तोड्ने प्रकृया थालिएको पनि निर्देशनालयले जनाएको छ। सम्पर्क बिहिन निर्माण व्यवसायीहरुमा लामा/बम्ती जेभी, लामा/डाफे/द कञ्चनजंगा जेभी, बम्ती भण्डार निर्माण सेवा, कञ्चनजंगा/बम्ती/देभ एण्ड सायर जेभी र याक्थामहाङ्ग/एसएपी जेभी रहेका छन्।
यी निर्माण कम्पनीले निर्देशनालयको पश्चिम कोशीमा बन्ने ५९ मिटर लामो पुल, चराली– केचना २० किलोमिटर सडक, २१ मिटर लामो आसीसी पुल, कथउना– पाटो फटेपुर १८ किलोमिटर सडक र ८.४५ किलोमिटर भिमपुर– देवांगञ्ज सडक निर्माण अलपत्र पारेका छन्।