खोटाङ। निर्माण सुरु भएको २८ वर्षमा पनि सगरमाथा लोकमार्ग अपूरै छ । २०५१ सालमा सुरु १ सय १ किलोमिटर लामो गाईघाट–महुरे सडक अझसम्म पूरा हुन सकेको छैन । अहिलेसम्म ३५ किलोमिटर मात्रै कालोपत्र भएको छ । १ सय ३१ किलोमिटरमध्ये महुरे–दिक्तेलसम्मको सडक भने मध्यपहाडी लोकमार्गमा गाभिएको छ ।
उक्त क्षेत्रमा सडक कालोपत्रे भइसकेको छ । उदयपुरको अँधेरीखोला–फोक्सिङटार र खोटाङको फोक्सिङटार–सिम्पानी तथा सिम्पानी–महुरे सडक भने अलपत्र छ । यसमध्ये अँधेरीखोला–फोक्सिङटार र फोक्सिङटार–सिम्पानी सडक खण्डको ठेक्का रद्द भइसकेको छ । अँधेरीखोला–फोक्सिङटार खण्डको ठेक्का पनि तोडिएको छ । अँधेरीखोला–फोक्सिङटार खण्डको काम मैनाचुली–सिद्धिसाई प्रकाश जेभीले लिएको थियो । करिब ११ करोड १७ लाखको लागतमा २०७८ चैत २८ मा सक्ने गरी २०७५ भदौ १४ मा सम्झौता गरेको थियो ।
त्यस्तै खोटाङको २६ किमिको फोक्सिङटार–सिम्पानी खण्ड कालोपत्र ठेक्का लिएको निर्माण कम्पनी देवनारायण पवन।मैनाचुली।खाम्पाचे जेभीसँग ठेक्का तोडिएको छ । करिब ५५ करोड ८७ लाख रुपैयाँको लागतमा २०७७ साउन १० भित्र सक्ने गरी २०७३ साउन ११ मा सम्झौता गरे पनि काम भने नगरेकाले पटक–पटक ताकेता गर्दासमेत अटेर गरेकाले ठेक्का तोडिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।
खोटाङकै सिम्पानी–माहुरे (२३ किलामिटर) सडकको काम पनि लथालिंग छ । करिब ४६ करोड ८७ रुपैयाँको लागतमा २०७७ असार २९ मा सक्ने गरी २०७३ असार २० मा सम्झौता भएको थियो । उक्त खण्डको सडक निर्माणको कामै धीमा गतिमा भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडा अध्यक्ष दिनेश राईले बताए । उक्त खण्डको काम अवधि आगामी असारसम्म थपिएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले जनाए ।
सगरमाथा लोकमार्गमै पर्ने उदयपुर र खोटाङलाई जोड्न सुनकोसी नदीमा पक्की पुल नभएका कारण यसैलाई बहाना बनाएर सडक निर्माण कम्पनीले काममा आनाकानी गर्दै आएका थिए । पुल पनि बनिसकेको बेलासमेत काममा चासो नदेखाएको स्थानीयको गुनासो छ । पूर्व–पश्चिम लोकर्मागअन्तर्गत सप्तरीको कदमाह र उदयफुरको सदरमुकाम गाईघाट हुँदै खोटाङ सदरमुकाम दित्तेल जोडने सडक दुवैतर्फ (उदयपुर र खोटाङ) पूर्णरूपमा ट्र्याक खुलेको वर्षौं बितिसक्दा पनि अधुरै हुनुले खोटाङको विकासमा बाधा पुगेको छ ।
२०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उदयपुरको सदरमुकाम बोक्सेमा उद्घाटन गरेका थिए । २८ वर्ष बितिसक्दा पनि सडक पूरा नभएकोप्रति खल्लो लागेको रौतामाई गाउँपालिका–५ आँपटारकी भविमाया राईले बताइन् । ‘म ४९र५० वर्षको हुँदा यो सडक खन्न सुरु भएको हो,’ राईले भनिन्, ‘अहिले ८० वर्ष लाग्दा खनिनै रहेका छन् ।’
राजर्मागको दुवैतर्फ (उदयपुर र खोटाङ) को ट्र्याक खोलिएको करिब १० वर्ष बढी नै भइसकेका छ । तर अझै सडक व्यवस्थित भएको छैन । आठ वर्षअघि उदयपुरको गाईघाटदेखि रौतामाई गाँउपालिकको फोक्सिङटारसम्म ट्र्याक खोलिएको थियो । सरकारको फ्रत्यक्ष संलग्नतामा गाईघाट दित्तेल सडक आयोजनाको कार्यालयले नै खोलेर काम थालिए पनि बर्सेनि छुट्टिने बजेटका कारण निर्माण कार्यमा ढिलाइ भएको हो । राजमार्ग निर्माणका लागि योजनामा करिब साढे तीन अर्ब रुपैयाँ रहेकोमा झन्डै १ अर्ब ८५ करोड रुपैयाँ मात्रै खर्च भएको प्रमुख खकुरेलले बताए ।
सडक व्यवस्थित नहुँदा जिल्लाको पहाडी क्षेत्रमा यातायात सञ्चालनमा समस्या छ । हिउँदमा यातायात सञ्चालन भए पनि वर्षायाममा सवारीसाधन सञ्चालन नहुँदा उदयपुरको उत्तरी पहाड र खोटाङको दक्षिण भेगका सर्वसाधारणले समस्या झेल्नु परेको छ । यसबाहेक सामान ढुवानी हुन नसक्दा दैनिक तथा अन्य वस्तुको भाउ अकासिएको छ । कान्तिपुरबाट