चितवन। महत्त्वाकांक्षी परियोजनाका रुपमा तीन वर्षअघि चितवनको भरतपुरमा निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अहिले अलपत्र छ । आर्थिक संकटले रंगशाला निर्माणको काम रोकिएको हो ।
बनिसकेको केही संरचना पनि अहिले झाडीमा परिणत भएको छ । रंगशाला बनाउँदा लागेको १८ करोड ऋण कसरी चुक्ता गर्ने भन्ने विषय टुंगोमा नपुग्दा काम अघि बढ्न नसकेको हो ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल भने स्रोत जुटाउन कुनै जटिलता नभएको दाबी गर्छिन् । ‘हामिलाई ठूलो चुनौती भनेको ऋण तिर्ने व्यवस्था कसरी गर्ने भन्ने हो । यो कुराको पार नै लागेको छैन’, उनी भन्छिन्, ‘अहिले पनि हामि त्यहि ऋण व्यवस्थापन कसरी गर्ने भनेर खोजिमा लागेका छौँ ।’ रंगशाला निर्माण कार्य र ऋण तिर्ने कुरालाई संगसंगै अघि बढाउन आफुले प्रस्ताव गरेको उनी बताउँछिन् ।
धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच २०७५ माघ १६ गते भरतपुर १५ मा अन्तर्राष्ट्रिय मापदण्डको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार फाउन्डेसनले जनसहयोगबाटै रकम जुटाउने भन्दै चन्दासमेत उठाएको थियो ।
रंगशाला निर्माणको काम थाल्दा अलग्गै उत्साह देखिएको थियो र काम पनि धमाधम अघि बढ्यो । सुरुमा सहयोगी दाताहरुको चहलपहल बाक्लै देखियो । तर, हरेक दिन कामदारले भरिने रंगशाला निर्माणस्थल अहिले भने सुनसान छ ।
आर्थिक संकट चुलिएपछि निर्माणको काम रोकिएको दुई वर्ष पुग्न लागिसक्यो । १८ करोड ऋण लागेको भन्दै फाउन्डेसनले काम अघि बढाउन सकेन । सोही ऋणका कारण भरतपुर महानगरले पनि प्रक्रिया अघि बढाउन सकेको छैन ।
रंगशालाको निर्माण कार्य रोकिनुअघि करिब तीन हजार क्षमताको प्याराफिटसमेत निर्माण भइसकेको छ । अन्य प्याराफिट निर्माणका लागि बनाइएका ठूला ठूला पिलरहरु अहिले अलपत्र छन् । फलाममा खिया लागेर कामै नलाग्ने अवस्था पुग्न लागेका छन् ।
घाँस रोपिएको खेल मैदान अहिले झाडीले भरिएको छ । निर्माण सामग्रीहरु अलपत्र छन् । यस्तै अवस्था रहे आगामी दिनमा निर्माण प्रक्रियालाई अगाडि बढाउनसमेत चुनौती देखिन्छ । रंगशाला निर्माणको क्रममा स्थानीयस्तरमा निकै चहल–पहल बढेको थियो । खेलप्रेमीहरुमा मात्र होइन, समग्र चितवन र देशवासीमै उत्साहको सञ्चार थियो । अहिले रंगशाला यो अवस्थामा पुग्दा स्थानीय दुःखी छन् ।
फाउन्डेसनले देखाएको १८ करोड ऋण चुक्ता गर्न अहिले मुख्य समस्या देखिएको हो । यसअघिको सरकारले रंगशालाका लागि २२ करोड रुपैयाँ रकम विनियोजन गरिसकेको छ । त्यसलाई कार्यान्वयनमा समेत लैजान सकिएको छैन ।
कुल तीन अर्ब खर्च हुने अनुमान गरिएको रंगशाला निर्माणमा हालसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको धुर्मुस(सुन्तली फाउन्डेसनको दाबी छ । तर, अहिलेसम्म भौतिक पूर्वाधारको ३५ प्रतिशत काम मात्रै सकिएको छ ।